काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय भक्तपुरमा कार्यरत इन्जिनियर शैलेन्द्र कुमार चौधरीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरेको छ।
आयोगका अनुसार चौधरीले सार्वजनिक सेवामा प्रवेश गरेदेखि सम्पत्ति विवरण बुझाएको अवधिसम्मको आर्थिक गतिविधि अध्ययन गर्दा आम्दानी र खर्चबीच अस्वाभाविक अन्तर देखिएको हो।
आयोगले चौधरीको नियुक्ति मिति २०६५ पुस ११ देखि २०८२ असार २९ सम्मको अवधिलाई अनुसन्धानको दायरामा राखी उनी र उनको एकासगोल परिवारका सदस्यहरूको आय तथा व्ययको विश्लेषण गरेको जनाएको छ।
अनुसन्धानबाट चौधरी र परिवारका सदस्यहरूले तलब बचत, जग्गा बिक्री, श्रीमतीको आम्दानी, बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा, घर बहाल, ब्याज आम्दानी, कृषि आय, कर्मचारी सञ्चय कोषको ऋण तथा अन्य वैधानिक स्रोतबाट गरी कुल २ करोड ७२ लाख ५५ हजार ७६६ रुपैयाँ ६ पैसा बराबरको आय गरेको देखिएको आयोगले जनाएको छ।
तर सोही अवधिमा जग्गा तथा घर खरिद, सवारी साधन, बीमा शुल्क, अध्ययन खर्च, कर्जा भुक्तानी, लगानी, शेयर खरिद, विद्युतीय सामग्री, फर्निचर, घर निर्माण, सुन खरिदलगायत विभिन्न शीर्षकमा गरी ४ करोड ९८ लाख ६८ हजार ८८९ रुपैयाँ ४२ पैसा बराबरको खर्च तथा लगानी भएको पाइएको आयोगको भनाइ छ।
आय र व्ययको तुलना गर्दा चौधरीको कुल वैधानिक आम्दानीभन्दा २ करोड २६ लाख १३ हजार १२३ रुपैयाँ ३६ पैसा बढी सम्पत्ति देखिएको र उक्त रकमको स्रोत पुष्टि हुन नसकेको आयोगले जनाएको छ।
आयोगले सार्वजनिक पदमा रहँदा अधिकारको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको निष्कर्षसहित चौधरीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कारबाहीको माग गरेको छ।
आरोप पत्रमा चौधरीसँग २ करोड २६ लाख १३ हजार १२३ रुपैयाँ ३६ पैसा बिगो कायम गरी बिगो बराबर जरिवाना, कैद तथा स्रोत नखुलेको सम्पत्ति जफत गर्न माग गरिएको छ। साथै, वास्तविक सम्पत्ति विवरण लुकाई गलत विवरण पेस गरेको अभियोगमा थप सजायको माग दाबी पनि गरिएको आयोगले जनाएको छ।
यसैगरी, चौधरीकी श्रीमती अर्पना कुमारीलाई पनि गैरकानुनी रूपमा आर्जित सम्पत्तिबाट खरिद वा कायम भएका सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी कायम गरिएको आयोगले जनाएको छ।






