काठमाडौँ । हाडनातामा जबरजस्ती करणीसम्बन्धी मुद्दामा फरार रहेका एक प्रतिवादीलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को समन्वयमा कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ ।
भोजपुरका ३२ वर्षीय जनक राईलाई नेपाल प्रहरीको अनुरोधमा जारी भएको रेड नोटिसका आधारमा कतारमा पक्राउ गरिएको हो । उनीविरुद्ध हाडनातामा जबरजस्ती करणीको मुद्दा दर्ता भएपछि फरार भई कतार पुगेका थिए ।
नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागअन्तर्गतको इन्टरपोल शाखाको पहलमा इन्टरपोल महासचिवालयले सन् २०२५ अप्रिल १ (२०८१ चैत १९) मा राईको खोजी तथा पक्राउका लागि रेड नोटिस जारी गरेको थियो ।
रेड नोटिस जारी भएपछि नेपालस्थित राष्ट्रिय केन्द्रीय ब्युरो (एनसीबी) काठमाडौँ र कतारस्थित एनसीबी दोहाबीच निरन्तर समन्वय भएको थियो । सोही प्रक्रियाका आधारमा कतारमा पक्राउ परेका राईलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी डिपोर्टमार्फत नेपाल ल्याइएको प्रहरीले जनाएको छ ।
नेपाल ल्याइएका राईलाई (साउन १३ गते) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एनसीबी काठमाडौँ (इन्टरपोल शाखा) बाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार उनलाई हाल प्रहरी वृत्त गौशालामा राखिएको छ । थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको टोलीलाई जिम्मा लगाउने प्रक्रिया अघि बढाइएको छ ।






