काठमाडौँ । सिरहाको गोलबजार नगरपालिका क्षेत्रका केही स्थानमा जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिहीबार दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्म लागू हुने गरी कर्फ्यु लगाइएको प्रशासनले जनाएको छ।
प्रशासनका अनुसार गोलबजार नगरपालिका-३ स्थित कसहा खोलादेखि पूर्व-पश्चिम राजमार्गको पूर्वी क्षेत्र, गोलबजार नगरपालिका-६ को सैनिक चोकदेखि उत्तरतर्फ तथा गोलबजार नगरपालिका-४ स्थित राप्ररा बहुमुखी क्याम्पस क्षेत्रसम्मको भूभागमा कर्फ्यु आदेश लागू गरिएको हो।
पछिल्लो सुरक्षा अवस्थाको मूल्यांकन गर्दा सम्भावित आन्दोलन, भीडभाड वा अवाञ्छित गतिविधिबाट सार्वजनिक शान्ति सुरक्षामा असर पर्न सक्ने अवस्था देखिएपछि यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ।
प्रशासनले शान्ति सुव्यवस्था कायम राख्न र सम्भावित जोखिम नियन्त्रण गर्न सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाइएको जनाएको छ।







