काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले चालु आर्थिक वर्षको पुँजीगत खर्च चैत मसान्तभित्रै अधिकतम रूपमा सम्पन्न गर्न निर्देशन दिएका छन् ।
बिहीबार मन्त्रालयमा भएको मन्त्रालय तथा मातहतका निकायसँगको छलफलमा उहाँले चैत्रभित्र नै पुँजीगत खर्च सक्न निर्देशन दिएका हुन्। उनले वर्षको अन्तिम तीन महिनामा अन्य कार्यको चाप बढ्ने भएकाले पुँजीगत बजेट समयमै खर्च गर्नुपर्नेमा जोड दिए।
उनले बेरुजु फर्स्यौटलाई प्राथमिकतामा राख्दै असुल गर्नुपर्ने रकम अनिवार्य असुल गर्न पनि निर्देशन दिए। सैद्धान्तिक बेरुजु समयमै फरफारक गरी चालु आर्थिक वर्षभित्र बेरुजु शून्यमा झार्ने लक्ष्यसहित काम गर्न उनले आग्रह गरे ।
मन्त्री यादवले प्रत्येक महिना सबै महाशाखा, विभाग र कार्यालयले कम्तीमा एउटा नीतिगत सुधार र एउटा डिजिटल सुधारको प्रस्ताव तयार गरी स्वीकृतिपछि कार्यान्वयनमा लैजानुपर्ने व्यवस्था लागू गर्न पनि निर्देशन दिए।
उनले मन्त्रालयलाई कार्यसम्पादनमा पहिलो हुने गरि काम गर्न पनि आग्रह गरे । उनले कर्मचारीको कार्यसम्पादन मूल्यांकन बजेट खर्चका आधारमा नभई सार्वजनिक सेवा प्रवाह, सुशासन, जनतामा परेको प्रभाव र प्रमुख कार्यसम्पादन सूचक (केपीआई) का आधारमा हुने पनि बताए । उनले जनअपेक्षाअनुसार काम गर्न कर्मचारीहरूलाई आग्रह गरे ।






