काठमाडौँ । नेपाल प्रहरीले देशका विभिन्न क्षेत्रमा उत्पन्न सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै आफ्ना कर्मचारीको अत्यावश्यकबाहेक सबै प्रकारका बिदा तत्कालका लागि स्थगित गरेको छ। प्रहरी प्रधान कार्यालयले देशभर लागू हुने गरी सर्कुलर जारी गर्दै किरिया र प्रसूतिको अवस्थाबाहेक अन्य बिदा स्वीकृत नगर्न निर्देशन दिएको हो।
सुरक्षा संवेदनशीलता बढेका क्षेत्रमा प्रहरी उपस्थिति थप सुदृढ बनाउन यस्तो निर्णय गरिएको जनाइएको छ ।
हाल सुरक्षा चुनौती देखिएका क्षेत्रमा आवश्यक जनशक्ति केन्द्रित गरी शान्ति–सुरक्षा कायम राख्ने, जनधनको क्षति हुन नदिने तथा सम्भावित अप्रिय घटना रोक्न विशेष परिचालन भइरहेको छ।
पछिल्ला दिनमा सुनसरी, सिरहा, धनुषालगायत केही जिल्लामा देखिएको तनावपूर्ण अवस्थापछि नेपाल प्रहरीले सुरक्षा व्यवस्था थप सुदृढ बनाउँदै जनशक्ति व्यवस्थापनमा कडाइ गरेको हो। प्रहरी प्रधान कार्यालयले परिस्थिति सामान्य नहुँदासम्म सुरक्षा तयारीलाई उच्च प्राथमिकतामा राखेर परिचालन जारी रहने जनाएको छ।






