काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले समाजमा विभाजन र द्वेष उत्पन्न गराउने कुनै पनि गतिविधिमा संलग्न नहुन सर्वसाधारणलाई आग्रह गरेको छ ।
सशस्त्र प्रहरी बलका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) नेत्रबहादुर कार्कीले सार्वजनिक सूचना जारी गर्दै धार्मिक सहिष्णुता र सामाजिक सद्भावमा असर पार्ने हिंसात्मक, गैरकानुनी तथा उत्तेजनात्मक गतिविधिबाट टाढा रहन अपिल गरेका हुन् ।
सामाजिक शान्ति र आपसी विश्वास कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने उल्लेख गर्दै सशस्त्र प्रहरीले शान्ति सुरक्षा व्यवस्थापनमा समन्वयात्मक रूपमा भूमिका निर्वाह गरिरहेको जनाएको छ ।
सुरक्षा निकायले समाजमा असहिष्णुता फैलाउने वा सार्वजनिक शान्तिमा असर पार्ने गतिविधि नियन्त्रणका लागि आवश्यक समन्वय र सतर्कता अपनाइरहेको समेत जनाएको छ ।







