काठमाडौँ । सुनसरीको देवानगञ्ज क्षेत्रमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै विभिन्न धार्मिक तथा सामाजिक संस्थाका प्रतिनिधिहरूले शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न संयुक्त अपिल गरेका छन् ।
विश्व हिन्दू महासंघ, नेपाल तथा मुस्लिम समुदायसँग सम्बन्धित संस्थाका प्रतिनिधिहरूले जारी गरेको संयुक्त वक्तव्यमा सुनसरी, सिरहा तथा मधेस प्रदेशका विभिन्न स्थानमा भएका घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली, शोकाकुल परिवारप्रति समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएकाले धार्मिक सहिष्णुता, सामाजिक सम्मान र आपसी एकता नै राष्ट्रिय पहिचानका आधार भएको उल्लेख गर्दै कुनै पनि विवाद वा घटनाले सामाजिक सम्बन्धमा असर पार्न नहुनेमा जोड दिइएको छ ।
संयुक्त अपिलमार्फत घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न, प्रभावित परिवारलाई राहत तथा उचित क्षतिपूर्तिको व्यवस्था गर्न र घाइतेहरूको प्रभावकारी उपचार सुनिश्चित गर्न सरकारसँग आग्रह गरिएको छ ।
धर्मको नाममा सामाजिक विभाजन र हिंसा फैलाउने प्रयासप्रति सचेत रहन आग्रह गर्दै वक्तव्यमा नागरिकलाई उत्तेजक, घृणात्मक वा सद्भावमा असर पार्ने गतिविधिबाट टाढा रहन आह्वान गरिएको छ ।
सबै धर्मको मूल उद्देश्य मानव कल्याण, सहिष्णुता र सामाजिक एकता प्रवर्द्धन गर्नु रहेको उल्लेख गर्दै कुनै पनि समुदायप्रति विभेद वा असमान व्यवहार स्वीकार्य नहुने धारणा सार्वजनिक गरिएको छ ।
वक्तव्यमा स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, धार्मिक नेतृत्व, नागरिक समाज र सञ्चारमाध्यमलाई संवाद तथा सहकार्यका माध्यमबाट शान्ति र सामाजिक विश्वास पुनः स्थापित गर्न सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिएको छ ।
नेपालमा लामो समयदेखि कायम रहेको धार्मिक सहअस्तित्व र सामाजिक सद्भावलाई कमजोर पार्ने गतिविधिप्रति सचेत रहँदै सबै नेपालीलाई विधिको शासन, राष्ट्रिय एकता र आपसी सम्मानको पक्षमा उभिन अपिल गरिएको छ ।
संयुक्त अपिलमा विश्व हिन्दू महासंघ, नेपालका महासचिव रामचन्द्र तिवारी, जमिअत उलमा ए नेपालका अध्यक्ष मौलाना मोहम्मद खालिद सिद्दिकी, विश्व हिन्दू महासंघ, नेपालका सचिवालय सदस्य राजुराज फुंयाल र अल सलाम सोसाइटीका अध्यक्ष मौलाना नजरुल हसन फलाहीको हस्ताक्षर रहेको छ ।






