पाकिस्तान । पाकिस्तानको दक्षिण–पश्चिमी प्रान्त बलुचिस्तानमा एक कोइला खानीमा भएको विस्फोटमा परी ३४ जना कामदारको मृत्यु भएको उद्धार अधिकारीहरूले बताएका छन् ।
प्रान्तीय राजधानी क्वेटाको बाहिरी इलाकामा अवस्थित उक्त खानीमा बिहीवार स्थानीय समयअनुसार दिउँसो करिब ४ बजे विस्फोट भएको थियो ।
खानीभित्र काम चलिरहेका बेला अचानक विस्फोट हुँदा त्यहाँ कार्यरत मजदुरहरू भित्रै थुनिएका थिए । उद्धार टोलीले हालसम्म ३२ जनाको शव निकालिसकेको छ भने अन्य दुई जना अझै खानीको अत्यन्तै जटिल र पहुँचयोग्य नभएको क्षेत्रमा फसिरहेका छन् ।
खानीको उक्त हिस्सामा पुग्न कठिन भएकाले बाँकी दुई जनाको पनि जीवितै उद्धार हुने सम्भावना न्यून रहेको उल्लेख गर्दै अधिकारीहरूले दुर्घटनामा संलग्न सबै ३४ जनाकै मृत्यु भएको हुनसक्ने बताएका छन् ।
घटनाको थप विवरण र विस्फोटको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।






