काठमाडौँ । सोमवार चार वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।
संघीय संसद् सचिवालयका अनुसार अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र लेखा समितिको बैठक बस्दै छ ।
अपराह्न २ बजे बस्ने लेखा समितिको बैठकमा प्राप्त उजुरीउपर छलफल गर्ने कार्यक्रम छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सम्बन्धमा छलफल हुनेछ । उक्त समितिको बैठक बिहान ११ बजे बस्दै छ ।
बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षाका सम्बन्धमा छलफल हुनेछ । त्यस्तै, अपराह्न १ बजे बस्ने अर्थ समितिको बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथि दफावार छलफल जारी रहनेछ ।






