काठमाडौँ । राष्ट्रिय महिला सशक्तीकरण परियोजना अन्तर्गत सञ्चालन भइरहेको गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार कार्यक्रममार्फत संखुवासभाकी एक महिलालाई उपचारका लागि काठमाडौँ ल्याइएको छ।
नेपाली सेनाका अनुसार महिला, बालबालिका, लैंगीक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयको समन्वयमा सञ्चालित उक्त कार्यक्रमअन्तर्गत श्रावण १७ गते संखुवासभाको खाँदबारी नगरपालिका–१ निवासी जटिल प्रसूति समस्यामा परेकी एक महिलाको नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरिएको हो।
प्रसूति अवस्थाका कारण थप विशेषज्ञ उपचार आवश्यक भएपछि उनलाई काठमाडौँस्थित स्वास्थ्य संस्थामा उपचारका लागि हवाई मार्गबाट स्थानान्तरण गरिएको नेपाली सेनाले जनाएको छ।
दुर्गम क्षेत्रमा रहेका गर्भवती तथा सुत्केरी महिलाले समयमै विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले मन्त्रालयले नेपाली सेनासँगको समन्वयमा हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।







