दैलेख। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका-३, पानीखोलामा घरायसी विवादका क्रममा एक व्यक्तिले बन्चरो प्रहार गरी आफ्नै श्रीमती र तीन सन्तानलाई गम्भीर घाइते बनाएका छन्।
प्रहरीका अनुसार स्थानीय ३८ वर्षीय अम्मर सलामी मगरले घरायसी विवाद हुँदा ३५ वर्षीया श्रीमती मनिषा सलामी मगर, १२ वर्षीय छोरा तपेन्द्र सलामी, ६ वर्षीय छोरा मिलन सलामी र ३ वर्षीया छोरी करिस्मा सलामीमाथि दाउरा काट्ने बन्चरोले टाउकोमा प्रहार गरेका हुन्।
घटनामा घाइते भएका चारै जनाको अवस्था गम्भीर रहेको बताइएको छ। उनीहरूलाई एम्बुलेन्समार्फत उपचारका लागि दैलेखको दुल्लुस्थित नगर अस्पताल पठाइएको छ।
घटना गराउने अम्मर सलामी मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। साथै, घटनामा प्रयोग भएको बन्चरोसमेत बरामद गरी प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।





