काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले गोकर्ण क्षेत्रमा बागमती करिडोर विस्तारको काम नेपाली सेनासँगको समन्वय र सहकार्यमा सम्पन्न भएको स्पष्ट पारेका छन्।
मंगलबार जारी गरेको विज्ञप्तिमार्फत सांसद पाण्डेले सडक विस्तारका क्रममा प्रारम्भिक चरणमा सूचना आदान–प्रदानमा केही मिनेट ढिलाइ हुँदा सामान्य असहज अवस्था उत्पन्न भए पनि त्यसपछि नेपाली सेनासँग समन्वय गरेर काम सम्पन्न गरिएको बताएका हुन्।
उनका अनुसार सम्बन्धित नेपाली सेनाको टुकुडीलाई समयमै आवश्यक जानकारी नपुग्दा केही बेर समन्वयमा समस्या देखिएको थियो। त्यसपछि नेपाली सेनाका प्रमुख सेनानीसँग छलफल र समन्वय गरी सेनाकै सहयोगमा करिडोर विस्तारको काम सम्पन्न गरिएको उनले उल्लेख गरेका छन्।
पाण्डेका अनुसार उक्त कार्य काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति तथा पूर्वाधार विकास मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा सम्पन्न भएको थियो।
यसअघि मंगलबार नै संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले करिडोर विस्तारका क्रममा देखिएको विवाद सूचना प्रवाहमा भएको क्षणिक ढिलाइका कारण उत्पन्न भएको दाबी गरेका थिए। केही समयपछि नेपाली सेनासँग आवश्यक समन्वय भएपछि काम नियमित रूपमा अघि बढाइएको उनको भनाइ थियो।
सांसद पाण्डेले निर्वाचन अभियानका क्रममा स्थानीय बासिन्दाले उठाएको मागअनुसार अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ उपत्यका विकास प्राधिकरण (केभिडिए) र नेपाल ट्रस्टसँग समन्वय गरी डोजर प्रयोग गरेर बाटो विस्तार गरिएको बताए।
करिडोर विस्तारका क्रममा नेपाली सेनाको टुकुडी रहेको जानकारी पाएपछि समन्वयको जिम्मेवारी अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्षलाई दिइएको पनि उनले उल्लेख गरेका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरू सोही प्रारम्भिक समन्वय अभाव भएको अवस्थाका भएको उनको दाबी छ।
सांसद पाण्डेले घटनाको वास्तविकता नबुझी सामाजिक सञ्जाल वा सञ्चारमाध्यममार्फत भ्रम फैलाउने, संस्थाबीच अनावश्यक विवाद सिर्जना गर्ने तथा तथ्य विपरीत निष्कर्ष प्रस्तुत नगर्न सबैसँग आग्रह गरेका छन्।







