काठमाडौँ । विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित राजस्व छुट प्रकरणमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्य हेमन्त रावल र विदुर कोइरालाको संयुक्त इजलासले भ्रष्टाचार मुद्दामा अधिकारीसँग तीन लाख रुपैयाँ धरौटी माग गर्दै उक्त आदेश दिएको हो।
विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार अधिकारीविरुद्ध अन्य मुद्दामा थुना आदेश कायम रहेकाले यस मुद्दामा धरौटी बुझाए पनि तत्काल थुनामुक्त भने हुने छैनन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाखमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ठेक्का सम्झौता विपरीत ठेकेदार कम्पनीलाई राजस्व छुट दिई राज्यलाई हानि पुर्याएको आरोपमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
आयोगको दाबीअनुसार निर्माण सम्झौतामै सम्बन्धित राजस्व ठेकेदार कम्पनीले नै व्यहोर्ने व्यवस्था रहेकामा त्यसविपरीत राजस्व छुट दिने निर्णय गरिएको थियो।
उक्त प्रकरणमा अख्तियारले प्रतिवादीहरूसँग ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो दाबी गरेको छ। यसअघि सोही मुद्दाका अन्य प्रतिवादीहरू भने धरौटीमा रिहा भइसकेका छन्।






