काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य रञ्जित कर्णले मुलुकको लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि पार्टीभित्रको आन्तरिक एकता अपरिहार्य रहेको बताएका छन् ।
बुधवार काठमाडौँको सुकेधारामा आयोजित ‘देश र काँग्रेस जोड्ने अभियान: एकता र सद्भाव विमर्श’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
नेता कर्णले इतिहासको चर्चा गर्दै नेपाली काँग्रेस कमजोर हुँदा देशको लोकतन्त्र र राष्ट्रियता समेत कमजोर हुने उल्लेख गरे ।
पछिल्लो संसदीय निर्वाचनमा काँग्रेस ठुलो दल बन्न नसकेको र वर्तमान सरकारको पाँच महिनाको कार्यशैलीले मुलुकमा लोकतन्त्रमाथि खतरा उत्पन्न हुन थालेको उनको भनाइ छ ।
पार्टी सुदृढीकरणका लागि सुरु गरिएको यो चिन्तन-मन्थन सुकेधारामा मात्र सीमित नभई पार्टी केन्द्रीय कार्यालय सानेपा, चुन्देवी र गाउँ-गाउँमा रहेका भुइँतहका कार्यकर्ता एवं किसानसम्म पुर्याइने उनले प्रतिबद्धता व्यक्त गरे । नेता कर्णले यो अभियानलाई मेची-महाकाली सम्मै लैजाने उद्घोष गर्दै लाखौँ शुभचिन्तक र क्रियाशील सदस्यहरूको दबाब र शुभेच्छाले पार्टीलाई एकीकृत गर्ने विश्वास व्यक्त गरे ।
उनले भने, ‘साथीहरू, आज हामी नेपाली काँग्रेसलाई एक ढिक्का बनाउने संकल्पका साथ यहाँ भेला भएका छौँ । इतिहासले देखाएको छ, नेपाली काँग्रेस कमजोर हुँदा लोकतन्त्र र राष्ट्रियता पनि कमजोर भएका छन् ।
वर्तमान राजनीतिक परिस्थितिमा लोकतन्त्र चुनौतीपूर्ण अवस्थामा पुगेको महसुस भइरहेको छ । त्यसैले पार्टीलाई एकताबद्ध र सशक्त बनाउनु आजको आवश्यकता हो । आजको यो छलफल काठमाडौँमा मात्र सीमित रहने छैन, मेचीदेखि महाकालीसम्म पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकमाझ पुर्याइने छ । हामी सबैको साझा प्रयास र दबाबबाट नेपाली काँग्रेसलाई एकताबद्ध बनाउँदै नयाँ ऊर्जा र विश्वासका साथ अघि बढ्ने विश्वास व्यक्त गर्दछौँ। इतिहासबाट शिक्षा लिँदै, वर्तमानलाई आत्मसात् गर्दै र भविष्यप्रति दृढ संकल्पका साथ अघि बढ्नु नै आजको हाम्रो उद्देश्य हो ।’
विभिन्न गुट र उपगुटमा रहेका पार्टीका अग्रज नेताहरूलाई एकताको सन्देश आत्मसाथ गर्न आग्रह गर्दै उनले यस अभियानले कार्यकर्तामा नयाँ ऊर्जा र बल प्रदान गर्ने दाबी गरे । उनले इतिहाससँग संवाद गर्दै र वर्तमानलाई आत्मसाथ गर्दै उज्ज्वल भविष्यका लागि गम्भीर संकल्पका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।






