काठमाडौँ । निर्वाचन आयोगले विद्यालय तहका विद्यार्थीमा लोकतान्त्रिक अभ्यास र निर्वाचन प्रक्रियाबारे जानकारी अभिवृद्धि गर्न निर्वाचन शिक्षा कार्यक्रमलाई निरन्तरता दिएको छ ।
आयोगको कार्यालय, बहादुर भवनमा रहेको निर्वाचन शिक्षा तथा सूचना केन्द्र (इइआसी)मार्फत सञ्चालित कार्यक्रमबाट मतदाता शिक्षा र निर्वाचनको महत्त्वबारे बुझाइएको हो । सो क्रममा आज काठमाडौँको वनस्थलीस्थित विभूति विद्या मन्दिरका कक्षा १० का विद्यार्थी निर्वाचन शिक्षा कार्यक्रममा सहभागी भएका थिए ।
कार्यक्रममा विद्यार्थीलाई नेपालको निर्वाचन प्रणाली, मतदाता शिक्षा, आयोगको भूमिका, स्वतन्त्र तथा निष्पक्ष निर्वाचनको महत्त्व र नागरिकको लोकतान्त्रिक दायित्वका विषयमा अभिमुखीकरण दिइएको आयोगले आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।
तारकेश्वर नगरपालिका, काठमाडौँका कक्षा १० का विद्यार्थीहरू निर्वाचन शिक्षा कार्यक्रममा सहभागी भएका थिए ।
उनीहरूलाई निर्वाचनसम्बन्धी आधारभूत अवधारणा, मतदान प्रक्रिया तथा लोकतान्त्रिक संस्कृतिको विकासमा युवाको भूमिकाबारे अभिमुखीकरण दिइएको थियो ।
आयोगले हालै ललितपुरको कुपण्डोलस्थित नाईटिंगेल इन्टरनेशनल स्कुलका विद्यार्थीलाई विद्यालयमै पुगेर शिक्षा कार्यक्रम सञ्चालन गरी निर्वाचनसम्बन्धी विविध विषयमा अभिमुखीकरण दिएको थियो । आयोगको निर्वाचन शिक्षा तथा तालिम शाखाले निर्वाचन शिक्षा तथा सूचना केन्द्रले सोको समन्वय गरेको हो ।
चालु आर्थिक वर्षको यो नयाँ अभ्यासलाई निरन्तरता दिँदै आगामी दिनमा प्रदेश निर्वाचन कार्यालयमा पनि विस्तार गरिने र सेवा वडापत्र पठाइने जनाइएको छ । हाल आयोगसहित विराटनगर, पोखरा, धनगढी र सुर्खेतका सूचना केन्द्रमार्फत यो कार्यक्रम निरन्तर सञ्चालन भइरहेको आयोगले जनाएको छ ।






