काठमाडौँ । रौतहटको गुजरा नगरपालिका–३ धनसार पुल नजिक पूर्व–पश्चिम राजमार्गमा पेट्रोल बोकेको ट्यांकरमा आगलागी भएको छ । आज बिहान साढे ५ बजे बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको ट्यांकरमा आगलागी भएको हो ।
बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको पेट्रोल बोकेको ट्यांकर मृग बचाउने क्रममा अनियन्त्रित भई सडकको दायाँ किनारमा पल्टिँदा आगलागी भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरी टोली तथा चन्द्रपुर नगरपालिका र निजगढ नगरपालिकाको दमकलको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।






