दाङ । भूमि प्रशासन कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२/८३ मा रु ५९ करोड ३४ लाख १५ हजार राजस्व संकलन गरेको छ । रजिस्ट्रेसन तथा सेवा दस्तुरबाट रु ३७ करोड सात लाख २४ हजार र पुँजीगत लाभकरबाट रु २२ करोड २६ लाख ९१ हजार संकलन भएको कार्यालय प्रमुख शान्तराज गौतमले जानकारी दिए।
उनका अनुसार उक्त कार्यालयले आव २०८१/८२ मा रजिस्ट्रेसन तथा सेवा दस्तुरबाट रु २५ करोड ६९ लाख ६१ हजार र पुँजीगत लाभकरबाट रु १० करोड ४४ लाख ८२ हजार राजस्व संकलन गरेको थियो ।
आव २०८०/८१ मा रु १८ करोड ५९ लाख ६६ हजार रजिस्ट्रेसन तथा सेवा दस्तुरबाट रु पाँच करोड ३१ लाख ५१ हजार र पुँजीगत लाभकरबाट संकलन गरेको छ ।
गत भदौमा जेन जेड आन्दोलनका क्रममा कार्यालयको भवन तथा कागजात जलेर पूर्ण रूपमा नष्ट भए पनि कार्यालयको सेवा प्रवाह नरोकिएकाले आव २०८२/८३ मा राजस्व संकलनमा सफल भएको कार्यालय प्रमुख गौतमले उल्लेख गरे ।
उनले भने, “केही कागजातमात्र सुरक्षित थिए, जनतालाई कठिनाइका साथ सेवा दिएका छौँ । अहिले राजस्व पनि राम्रो संकलन भएको छ ।” सो कार्यालयअन्तर्गत तुलसीपुर उपमहानगरपालिकाका शान्तिनगर, दङ्गीशरण र बबई गाउँपालिकाका नागरिकले भूमिसम्बन्धी सेवा लिने गर्छन् ।






