काठमाडौँ । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले मोटरसाइकलसहित बगाएका एक जना चालकको प्रहरीले सकुशल उद्धार गरेको छ ।
अविरल वर्षापछि पितमारी खोलामा आएको बाढीले सुर्खेतबाट कैलालीतर्फ आउँदै गरेका कैलालीको बर्दगोरिया गाउँपालिका–२ का ३९ वर्षीय लौटन थारु सवार से ४ प ८६७९ नम्बरको मोटरसाइकल बगाएको थियो ।
बिहीबार राति करिब ८:३० बजे इलाका प्रहरी कार्यालय चिसापानी, कैलालीबाट प्रहरी निरीक्षक मीरा खड्काको कमाण्डमा खटिएको टोलीले थारुको उद्धार गरेको हो ।
प्रहरीका अनुसार खोलाले बगाएर लैजाँदै गरेको अवस्थामा घटनास्थलबाट करिब १५० मिटर तल भिरालो क्षेत्रबाट थारुलाई सकुशल उद्धार गरिएको थियो ।
घटनामा थारुको ढाड र दाहिने कुइनामा सामान्य चोट लागेको छ । उनको समग्र स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
उद्धारपछि थारुलाई आफन्तको जिम्मा लगाइएको छ ।






