काठमाडौँ। पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
सरकारी लेटरप्याडको दुरुपयोग तथा सार्वजनिक क्षेत्रमा पोखरी निर्माण गरेको आरोपमा उजुरी परेका अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।
जिल्ला अदालत नवलपरासीबाट साउन २० गते यादवलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति प्राप्त भएको हो। अदालतको अनुमतिपछि प्रहरीले घटनासम्बन्धी अनुसन्धान अघि बढाएको जनाएको छ।
यद्यपि, अनुसन्धानकै क्रममा रहेको भन्दै प्रहरीले यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको विषय सार्वजनिक रूपमा खुलाएको छैन।
जिल्ला अदालत नवलपरासीका सूचना अधिकारी भेषराज खनालका अनुसार साउन २० गते नै यादवको नाममा पक्राउ पुर्जी जारी भएको थियो। तर त्यसपछि म्याद थपका लागि अदालतमा निवेदन नआएकाले अनुसन्धानको पछिल्लो प्रक्रियाबारे अदालतलाई जानकारी नभएको उनले बताएका छन्।
यादवविरुद्ध परेको उजुरीमा सरकारी लेटरप्याडको प्रयोग तथा सार्वजनिक क्षेत्रमा पोखरी निर्माणसम्बन्धी विषय समेटिएको बताइएको छ। प्रहरीले आरोपबारे अनुसन्धान अघि बढाइरहेको छ।






