काठमाडौँ । नेपाल शिक्षक महासंघले आगामी भदौदेखि शैक्षिक तथा पेसागत मागलाई लिएर आन्दोलन गर्ने निर्णय गरेको छ।
महासंघको तेस्रो राष्ट्रिय परिषद् बैठकले आन्दोलनमा जानेसहित विभिन्न १५ बुँदे निर्णय गरेको हो। परिषद् बैठकका निर्णयबारे महासंघले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ।
महासंघका अनुसार आन्दोलनको निश्चित मिति, स्वरूप र कार्यक्रम तय गर्ने अधिकार परिषद्ले विस्तारित कार्यादलीय बैठकलाई प्रत्यायोजन गरेको छ। उक्त बैठकबाट आन्दोलनका कार्यक्रम र कार्यतालिका निर्धारण गरिनेछ।
महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले विगतदेखि उठाउँदै आएका मागसँगै पछिल्लो समय देखिएका नयाँ शैक्षिक तथा पेसागत विषयलाई समेत समेटेर आन्दोलन गर्ने निर्णय भएको जानकारी दिए।
परिषद्ले सार्वजनिक गरेका १५ बुँदे निर्णयमध्ये भदौदेखि आन्दोलनमा जाने विषयलाई प्रमुख रूपमा अघि सारेको छ। यद्यपि आन्दोलन कुन मितिबाट सुरु हुने र कस्ता कार्यक्रम सञ्चालन गरिने भन्नेबारे विस्तारित कार्यादलीय बैठकपछि टुङ्गो लाग्ने महासंघले जनाएको छ।










