विराटनगर । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय सरकारी सेवा गठन तथा सञ्चालन नियमावलीका लागि प्रदेश लोक सेवा आयोगको परामर्श माग गर्ने निर्णय गरेको छ ।
सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिंथेपले सरकारको निर्णय सार्वजनिक गर्दै प्रदेश अनुसन्धान प्रशिक्षण तथा प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा इटहरी उपमहानगरपालिका-४ की अनिता गुरागाईँलाई नियुक्त गरेको जानकारी दिए ।
मन्त्री लिंथेपका अनुसार सुन्दर हरैचा नगरपालिकाको हाल रहेको केन्द्र साविक वडा नं १२ बाट वडा नं ८ मिरगोलिया लैजान नगरपालिकाको मागअनुसार सिफारिस दिने, प्रदेश युवा परिषद्सम्बन्धी विधेयक तर्जुमा गर्नका लागि अवधारणा पत्र तयार पार्न सैद्धान्तिक सहमति दिने र वृद्धिमुखी कार्यान्वयन कार्यविधि तथा रोजगार प्रवर्द्धन कार्यान्वयन कार्यविधि २०८२ खारेज गर्ने निर्णय गरिएको छ ।






