काठमाडौँ । सप्तरीको राजगढ गाउँपालिका–१, कजराहा टोलस्थित पश्चिमतर्फ नहरको छेउबाट प्रहरीले १९० किलो ५२० ग्राम बेवारिसे गाँजा बरामद गरेको छ।
प्रहरी चौकी झुट्की, सप्तरी र सशस्त्र प्रहरी बल बनेनिया, सप्तरी बेस क्याम्पबाट खटिएको संयुक्त प्रहरी टोलीले गस्ती गर्ने क्रममा नहरको छेउमा बेवारिसे अवस्थामा रहेका ५ वटा बोरा फेला पारेको थियो। बोराहरू जाँच गर्दा ठूलो परिमाणमा लागुऔषध गाँजा भेटिएपछि प्रहरीले बरामद गरेको हो।
बरामद गरिएको गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको छ।
घटनामा गाँजा छाडेर जाने व्यक्तिको पहिचान तथा संलग्नताबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।






