चन्द्रागिरी नगरपालिका-८ मातातीर्थमा प्रहरीले २ किलो २१६ ग्राम गाँजाजस्तो देखिने पदार्थ बरामद गरी पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
काठमाडौँ । चन्द्रागिरी नगरपालिका-८ मातातीर्थबाट लागु औषध गाँजाजस्तो देखिने पदार्थसहित पाँच जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार साउन २३ गते अपराह्न करिब ४:१५ बजे मातातीर्थ क्षेत्रमा गाँजा बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी प्रभाग मातातीर्थबाट टोली खटिएको थियो। टोलीले चेकजाँच गर्ने क्रममा पाँच जनाको साथबाट कुल २ किलो २१६ ग्राम गाँजाजस्तो देखिने पदार्थ फेला पारेको जनाएको छ।
पक्राउ पर्नेमा चितवनको भरतपुर नगरपालिका-१० घर भई हाल चन्द्रागिरी नगरपालिका-८ बस्ने ३२ वर्षीय सुगम मैनाली, ललितपुर महानगरपालिका-१० का २५ वर्षीय अंकित उप्रेती र गोदावरी नगरपालिका-२ का ३७ वर्षीय प्रिनेस खड्का छन्।
त्यस्तै, काठमाडौँको बुढानीलकण्ठ-४ का ३१ वर्षीय विनायक भुषाल र काठमाडौँ महानगरपालिका-७ का ३२ वर्षीय विशेष जोशी पनि पक्राउ परेका छन्।
प्रहरीले बरामद पदार्थसहित पाँचै जनालाई नियन्त्रणमा लिएर लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ। उनीहरूमाथि अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइएको छ।






