काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतका आंगिक शिक्षालयमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीले आफ्ना सेवा–सुविधासम्बन्धी माग कार्यान्वयनको दबाब बढाउँदै केन्द्रीय कार्यालय सानोठिमीमा घेराउ गरेका छन्।
देशभर रहेका ६७ आंगिक शिक्षालयमा कार्यरत करिब २ हजार २ सय कर्मचारी पूर्वनिर्धारित आन्दोलन कार्यक्रमअनुसार केन्द्रीय कार्यालय पुगेका हुन्। कर्मचारीहरूले साउन १४ गतेदेखि विभिन्न चरणमा आन्दोलन गर्दै आए पनि व्यवस्थापनबाट माग सम्बोधनका लागि ठोस पहल नभएको जनाएका छन्।
आन्दोलनरत कर्मचारीले समान प्रकृतिको काम गर्ने स्थायी तथा अन्य कर्मचारीको तुलनामा आफूहरूलाई पारिश्रमिक र सुविधामा विभेद गरिएको भन्दै समान कामका लागि समान ज्यालाको व्यवस्था लागू गर्न माग गरेका छन्।
उनीहरूले स्थानीय भत्ता, दुर्गम क्षेत्र भत्ता, महँगी भत्ता, प्रोत्साहन सुविधा, सामाजिक सुरक्षा तथा पेशागत स्थायित्वलाई पनि आफ्ना प्रमुख मागका रूपमा अघि सारेका छन्।
लामो समयदेखि परिषद्अन्तर्गतका विभिन्न शिक्षालयमा सेवा दिँदै आएका करार तथा ज्यालादारी कर्मचारीले कार्यजिम्मेवारी समान भए पनि पारिश्रमिक र सेवा–सुविधामा असमानता कायम रहेको बताएका छन्। यसलाई सम्बोधन गर्न न्यायोचित र स्पष्ट व्यवस्था आवश्यक रहेको उनीहरूको भनाइ छ।
करार तथा ज्यालादारी केन्द्रीय संघ समितिले चरणबद्ध आन्दोलनका क्रममा उठाइएका मागप्रति व्यवस्थापनले पर्याप्त चासो नदेखाएपछि केन्द्रीय कार्यालय घेराउको कार्यक्रम अघि बढाइएको जनाएको छ।
कर्मचारी पक्षले माग समाधानका लागि वार्ता र संवादको माध्यमबाट तत्काल आवश्यक निर्णय लिन परिषद् व्यवस्थापनसँग आग्रह गरेको छ।
यता सीटीईभीटीका प्रवक्ता एकराज अधिकारीले उनीहरूले गेटका आन्दोलन गरिरहेको बताए । उनीहरूसँग शुक्रबारसम्म नै सहमतिको प्रयास गरेको तर निष्कर्षमा नपुगेको प्रवक्ता अधिकारीले बताएका छन् ।






