काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न तीन वटा विधेयक प्रस्तुत गरिएका छन् । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ प्रस्तुत गरेका हुन्।
विधेयक प्रस्तुत गर्दै उनले कोषको २०१९ सालको ऐन कार्यान्वयनमा रहेको बताउँदै समसामयिक संशोधन गर्न आवश्यक भएकाले यो विधेयक प्रस्तुत गरिएको जानकारी दिएका दिए।
यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गरिन् । उनले विधेयक प्रस्तुत गर्दै २०६८ सालमा जारी भएको ऐनलाई संशोधन गर्न र छिटोछरितो न्याय निरूपणका लागि विधेयक ल्याइएको जानकारी गराइन् ।
बैठकमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ प्रस्तुत गरे ।
विधेयक प्रस्तुत गर्दै उनले बालबालिका जोखिमपूर्ण काममा लगाउन निषेध गर्न, प्रचलित कानुनलाई नियमित र नियमन गर्न बनाउन विधेयक ल्याएको सदनलाई जानकारी गराए। प्रतिनिधि सभा बैठक जारी छ ।






