काठमाडौँ । आज अर्थात् १२ अगस्ट २०२६ मा दुर्लभ खग्रास सूर्य ग्रहण लाग्दैछ। आज लाग्ने खण्डग्रास सूर्य ग्रहण नेपालबाट भने नदेखिने पञ्चांग निर्णायक समितिले जनाएको छ। विश्वका केही भागमा भने सूर्य ग्रहण लाग्ने खगोलविद्हरूले बताएका छन्।
आजको सूर्य ग्रहण पृथ्वीका केही क्षेत्रमा पूर्णरूपमा र केही ठाउँमा आंशिक रूपमा मात्रै देखिने नासाले जनाएको छ।
खगोलीय नियमअनुसार चन्द्रमा पृथ्वी र सूर्यको बीचबाट पार हुँदा सूर्यको आंशिक वा पूर्ण प्रकाश पृथ्वीसम्म पुग्नबाट रोकिन्छ। जसको कारण सूर्य ग्रहण लाग्छ। सूर्य ग्रहण लाग्न चन्द्रमा, सूर्य र पृथ्वी एउटै सिधा रेखामा आउनुपर्छ।
आजको सूर्य ग्रहण उत्तरी रुस, ग्रिनल्यान्ड, आइसल्यान्ड, स्पेन र पोर्चुगलका केही भागहरूमा पूर्ण ग्रहणको रूपमा देखिनेछ। उत्तरी रुसको एउटा सानो र दुर्गम क्षेत्रमा दिउँसोको समयमा सूर्य ग्रहण देखिने नासाले जनाएको छ।
त्यसपछि यो पृथ्वीमा पूर्व दिशातर्फ बढ्दै स्थानीय समयअनुसार सूर्यास्त हुनुभन्दा ठिक अघि साँझपख स्पेनमा देखिनेछ। त्यसैगरी अमेरिकाको उत्तरी भाग, क्यानडा, उत्तर९पश्चिमी अफ्रिका र युरोपका धेरै क्षेत्रहरूमा आंशिक रूपमा सूर्य ग्रहण देखिनेछ। केही ठाउँहरूमा सूर्यको ९० प्रतिशत वा सोभन्दा बढी भाग ढाकिएको देखिने वैज्ञानिकहरूले बताएका छन्।
अफ्रिका र युरोपका केही भागमा सूर्यास्तको समयमा सूर्य ग्रहण देखिनेछ। सूर्य ग्रहणलाई खाली आँखाले हेर्न नहुने वैज्ञानिकहरूले बताएका छन्। साधारण सनग्लास लगाएर पनि सूर्य ग्रहण हेर्न मिल्दैन। यसो गर्दा आँखाको रेटिनामा स्थायी रूपमा क्षति पुग्न सक्ने जोखिम हुन्छ भने विशेष चस्मा लगाएर मात्र सूर्य ग्रहण हेर्न सकिने वैज्ञानिकहरू बताउँछन्।
नासालगायत धेरै संस्थाले आजको सूर्य ग्रहणको प्रत्यक्ष प्रसारण (लाइभ टेलिकास्ट) गर्ने तयारी गरेका छन्।यसअघि २ असोज २०८२ मा पनि सूर्य ग्रहण लागेको थियो। त्यति बेलाको सूर्य ग्रहण पनि नेपालबाट देखिएको थिएन।
त्यति बेलाको सूर्य ग्रहण न्यूजिल्याण्ड, अष्ट्रेलिया, फिजी, टोङ्गा, अन्टार्टिकालगायत देशबाट मात्रै देखिएको थियो। सूर्य ग्रहण औँसी र चन्द्र ग्रहण पूर्णिमामा लाग्ने गर्छ।






