काठमाडौँ । गृह मन्त्रालयले बैतडी र संखुवासभामा नयाँ प्रमुख जिल्ला अधिकारी (प्रजिअ) खटाएको छ। मन्त्रालयले मंगलबार राति बैतडीका प्रजिअ डिजन भट्टराईलाई संखुवासभा सरुवा गर्दै बैतडीमा उपसचिव मिना अर्याललाई प्रजिअको जिम्मेवारी दिएको हो।
अर्याल यसअघि डडेल्धुराको प्रजिअमा सरुवा भएकी थिइन्। तर डडेल्धुरामा उपसचिव तहकै प्रजिअ कार्यरत रहेको अवस्थामा पुनः सोही तहको कर्मचारीलाई सरुवा गरिएको विषयमा समस्या देखिएपछि उनी गृह मन्त्रालयमै रोकिएकी थिइन्। मन्त्रालयले पछिल्लो निर्णयबाट उनलाई बैतडीको प्रजिअमा खटाएको हो।
संखुवासभामा डिजन भट्टराई
मन्त्रालयले बैतडीका प्रजिअ भट्टराईलाई संखुवासभाको प्रशासनिक नेतृत्व सम्हाल्ने गरी सरुवा गरेको छ। संखुवासभाको प्रजिअ पद पछिल्लो समय रिक्त थियो।
कप्तानगञ्ज घटनापछि सुनसरीका प्रजिअ बासुदेव घिमिरेलाई मन्त्रालय तानिएको र संखुवासभाका तत्कालीन प्रजिअ ईश्वरीप्रसाद अर्याललाई त्यहाँ खटाइएपछि संखुवासभामा प्रजिअ पद रिक्त भएको थियो। सोही रिक्त स्थानमा भट्टराईलाई पठाइएको हो।
कर्मचारी प्रशासन शाखामा सुवास न्यौपाने
यसैबीच, गृह मन्त्रालयले कर्मचारी प्रशासन शाखाको जिम्मेवारी पनि हेरफेर गरेको छ। मन्त्रालयको कल सेन्टरमा कार्यरत उपसचिव सुवास न्यौपानेलाई कर्मचारी प्रशासन शाखाको जिम्मेवारी दिइएको छ।
पछिल्लो समय मन्त्रालयको कर्मचारी सरुवा तथा व्यवस्थापनमा निर्णय र कार्यान्वयनबीच समन्वय कमजोर देखिएको भन्दै कर्मचारी वृत्तमा असन्तुष्टि सुनिन थालेको छ। विशेष गरी प्रजिअ खटनपटन तथा सरुवाका केही निर्णयमा देखिएका समस्या र त्यसपछि गरिएका संशोधनले कर्मचारी व्यवस्थापनको प्रभावकारितामाथि प्रश्न उठाएको छ।






