काठमाडौँ । नेपाली काँग्रेसले निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारपछि स्वदेश फर्किएकोमा स्वागत गर्दै उनको पूर्ण स्वास्थ्य लाभको कामना गरेको छ।
काँग्रेस केन्द्रीय समिति बैठकपछि प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिमा पार्टीको इतिहास निर्माण तथा लोकतान्त्रिक आन्दोलनमा देउवाले पुर्याएको योगदानप्रति सम्मान व्यक्त गरिएको छ।
काँग्रेसले विशेष महाधिवेशनबाट पार्टीमा आएको वैधानिक परिवर्तनलाई संस्थागत गर्न देउवाबाट अभिभावकीय भूमिका निर्वाह हुने विश्वास व्यक्त गरेको छ।
‘पार्टी र देशमा विधि र पद्धति स्थापित गर्न लामो संघर्ष गर्नुभएका आदरणीय नेताले विशेष महाधिवेशन मार्फत पार्टीमा आएको वैधानिक परिवर्तनलाई संस्थागत गर्दै समयसापेक्ष र गतिशील नेपाली काँग्रेस निर्माणका लागि निवर्तमान सभापतिका रूपमा अभिभावकीय भूमिका निर्वाह गर्नुहुनेछ भन्नेमा यो बैठक पूर्ण विश्वास व्यक्त गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
काँग्रेसले देउवाको नेतृत्वमा भएका लोकतान्त्रिक आन्दोलन र पार्टी निर्माणसम्बन्धी योगदानको स्मरण गर्दै बदलिएको परिस्थितिमा पार्टीलाई समयसापेक्ष तथा गतिशील बनाउन उनको अनुभव र भूमिका महत्त्वपूर्ण हुने अपेक्षा गरेको छ।






