काठमाडौँ । सुदूरपश्चिम प्रदेशको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका खगराज भट्ट लामो राजनीतिक संघर्ष, संगठनात्मक जिम्मेवारी र संसदीय अभ्यास हुँदै प्रदेशको मुख्यमन्त्री पदमा पुगेका नेता हुन्। डडेल्धुराबाट राजनीतिक यात्रा सुरु गरेका भट्टले भूमिगत राजनीति, जेल जीवन, पार्टी संगठन र निर्वाचन प्रतिस्पर्धाका विभिन्न चरण पार गरेका छन्।
वि.सं. २०३१ पुस २ गते डडेल्धुराको अजयमेरु गाउँपालिका-४ चौडीमा रामदत्त भट्ट र गोमतीदेवी भट्टका सन्तानका रूपमा जन्मिएका भट्टको प्रारम्भिक जीवन डडेल्धुरामै बितेको थियो। उनको औपचारिक शैक्षिक योग्यता आईएल तहसम्म रहेको छ।
उनको राजनीतिक सक्रियताको औपचारिक सुरुआत वि.सं. २०४७ मा नेकपा एकता केन्द्रको सदस्यता लिएसँगै भएको थियो। त्यसको तीन वर्षपछि उनी पार्टीको पूर्णकालीन सदस्य बने भने त्यही वर्ष डडेल्धुरा जिल्ला सदस्यको जिम्मेवारीमा पुगे।
राजनीतिक गतिविधिमा सक्रिय रहेकै क्रममा भट्ट वि.सं. २०५२ फागुन २४ गते अमरगढी नगरपालिका–३ बाट ‘राज्यविरुद्ध अपराध’सम्बन्धी मुद्दामा पक्राउ परेका थिए। उनी वि.सं. २०५३ पुस ८ गतेसम्म जेलमा रहे।
त्यसपछि तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वका क्रममा उनी भूमिगत राजनीतिमा सक्रिय भए। वि.सं. २०५२ फागुन १ देखि २०६३ वैशाख १२ गतेसम्म चलेको द्वन्द्वकालमा उनले संगठन विस्तार र पार्टीका विभिन्न जिम्मेवारी सम्हाले।
संगठनात्मक जिम्मेवारीको क्रममा वि.सं. २०५८ साउनमा उनी नेकपा माओवादीको डडेल्धुरा जिल्ला सेक्रेटरी बने। त्यसपछि २०५९ पुसमा दार्चुला र बैतडीको इञ्चार्जको जिम्मेवारी पाए। वि.सं. २०६० मा केन्द्रीय सदस्य बनेका भट्टले २०६४ मा सेती-महाकाली राज्य समितिको सचिवको जिम्मेवारी सम्हाले।
एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएपछि भट्टले वि.सं. २०७६ मा सुदूरपश्चिम प्रदेश सहइञ्चार्जको जिम्मेवारी पाए। नेकपा विभाजनपछि २०७८ मा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश इञ्चार्ज बनेका उनी २०८० मा पार्टी स्थायी समिति सदस्य भएका थिए।
निर्वाचनमार्फत संसदीय यात्रातर्फ
भट्टको राजनीतिक यात्रा संगठनभित्र मात्र सीमित रहेन। उनले संविधानसभा तथा प्रतिनिधिसभाका निर्वाचनमा डडेल्धुराबाट पटक-पटक प्रतिस्पर्धा गरे। वि.सं. २०६४ र २०७० का संविधानसभा निर्वाचन तथा २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनी उम्मेदवार बनेका थिए।
ती निर्वाचनमा नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका भट्ट त्यसबेला निकटतम प्रतिद्वन्द्वी बनेका थिए।
वि.सं. २०७९ को प्रदेशसभा निर्वाचनमा भने उनले डडेल्धुरा प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ विजय हासिल गरे। काँग्रेस र माओवादी केन्द्रबीचको गठबन्धनबाट निर्वाचित भएका भट्टलाई त्यसबेला मुख्यमन्त्रीका सम्भावित उम्मेदवारका रूपमा समेत अघि सारिएको थियो।
वि.सं. २०८० मा उनी सुदूरपश्चिम प्रदेशसभामा माओवादी केन्द्रको संसदीय दलको नेता बने। यसअघि मुख्यमन्त्री बन्ने अवसर नपाएका भट्टले प्रदेशसभामार्फत प्रदेशको नीति निर्माण तथा विकाससम्बन्धी विषयमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने अवसर पाए।
सुशासन र विकासको एजेन्डा
राजनीतिक तथा संसदीय गतिविधिमा भट्टले सुशासन, सामाजिक न्याय र वैज्ञानिक विकासलाई प्राथमिकताका विषयका रूपमा प्रस्तुत गर्दै आएका छन्। प्रदेशको आर्थिक तथा सामाजिक रूपान्तरणका लागि कृषि, पर्यटन, जलस्रोत, खेलकुद, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा जोड दिँदै आएका उनको राजनीतिक धारणा छ।
सुदूरपश्चिममा उपलब्ध प्राकृतिक तथा आर्थिक सम्भावनालाई समग्र प्रदेश विकाससँग जोड्नुपर्ने उनको दृष्टिकोण रहँदै आएको छ। प्रदेशको स्रोतसाधन र सम्भावनालाई उत्पादन तथा रोजगारीसँग जोड्ने विषय पनि उनको राजनीतिक प्राथमिकतामा पर्दै आएको छ।
लामो समय पार्टी संगठनमा सक्रिय रहेर विभिन्न जिम्मेवारी सम्हालेका भट्ट अब प्रदेश सरकारको कार्यकारी नेतृत्वमा पुगेका छन्। यससँगै उनले विगतमा सार्वजनिक गर्दै आएका सुशासन, विकास र सामाजिक न्यायसम्बन्धी प्रतिबद्धतालाई व्यवहारमा उतार्ने चुनौती पनि थपिएको छ।
मुख्यमन्त्रीका रूपमा उनको आगामी कार्यकालमा प्रदेशको नीति निर्माण, विकास आयोजना कार्यान्वयन, सेवा प्रवाह र जनअपेक्षा सम्बोधनमा कस्तो प्राथमिकता निर्धारण हुन्छ भन्ने विषय सुदूरपश्चिमको राजनीतिक तथा प्रशासनिक वृत्तमा चासोको विषय बनेको छ।






