काठमाडौँ । परराष्ट्र मामिलाका विज्ञ एवं पूर्व मुख्यसचिव शंकरदास बैरागीले नेपालको परराष्ट्र नीति पार्टीगत स्वार्थभन्दा माथि उठ्न नसकेको बताएका छन् ।
शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले उस्तो बताएका हुन् । उनले दलहरूले परराष्ट्र नीतिलाई आफूअनुकुल प्रयोग गर्ने गरेको टिप्पणी समेत गरे ।
उनले सरकार परिवर्तन भएसँगै परराष्ट्र नीति परिवर्तन हुन नहुने भन्दै राष्ट्रिय हित र राष्ट्रिय स्वार्थमा आधारित परराष्ट्र नीति आवश्यक रहेको बताए । नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितसँग जोडिएका विषयमा मुलुकको सबैपक्षबीच साझा धारणा हुन आवश्यक रहेको उनको भनाइ छ ।
उनले छिमेकी तथा अन्य मित्रराष्ट्रको अहितमा नेपालको भूमि प्रयोग हुन नदिने कुरामा भविष्यमा समेत राज्य गम्भीर हुनुपर्ने बताए । उनले भौगोलिक तथा रणनीतिक संवेदनशीलताका कारण नेपालले सबै मुलुकसँगको सम्बन्धलाई सन्तुलित ढंगले अघि बढाउनुपर्ने आवश्यक रहेको पनि बताए ।
उनले राष्ट्रिय एकता कमजोर भए त्यसको प्रत्यक्ष असर परराष्ट्र नीतिमा समेत पर्ने भन्दै राष्ट्रिय एकता खल्बिलिन नदिने कुरामा हामी सबै सचेत हुनुपर्ने समेत बताए । नेपालले ठूला राष्ट्रिय महत्वाकांक्षा राखे पनि त्यसलाई पूरा गर्ने सामर्थ्यको मूल्यांकन गर्नुपर्ने उनको भनाइ छ । उनले नेपालसँग पर्याप्त राष्ट्रिय तथा सैन्य शक्ति नभएकाले असंलग्न दृष्टिकोण र विषयवस्तुको मेरिटका आधारमा निर्णय गर्ने परम्परालाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
उनले भने, ‘छिमेकी लगायत कुनै पनि मित्र राष्ट्रहरूको अहितमा हाम्रो भूमि प्रयोग हुनुहुँदैन भनेको हो । छिमेकीसँग भूगोल जोडिएको भएर र अरूसँग पनि रणनीतिक हिसाबले मिल्दैन भन्न खोजेको मात्र हो । तर हामीले परराष्ट्र नीतिलाई पार्टीको इन्ट्रेस्टभन्दा बाहिर राख्न सकेको अवस्था पनि त छैन । सरकार परिवर्तन हुँदैमा परराष्ट्र नीति परिवर्तन हुन्छ कि हुँदैन ? परराष्ट्र नीति राष्ट्रको हो कि पार्टी को हो ? वा कुनै दलको हो ? नीति त परिवर्तन हुनुहुँदैन । कहिले काहीँ केही माननीयज्यूलाई नेपालको परराष्ट्र नीति कस्तो हुनुपर्छ ? भनेर सोधेको पनि देख्छु । उहाँहरूले जस्तो छ त्यस्तै हुनुपर्छ भन्ने कुरा पनि गर्ने गरेको सुन्छु । त्यस कारण पार्टीगत परराष्ट्र नीति हुँदैन । कहिले काहीँ पार्टीको लिडरसिपले केही असर पार्न सक्छ । तर कोर नीति त एउटै हो नि । नेपालको सार्वभौम सत्ता कसैले कम्प्रमाइज गर्न सक्छ ? सक्दैन । तर अरू एक दुई कुराहरूमा सम्बन्धको हिसाबमा अलिकति परिवर्तन त भई नै हाल्छ । त्यस कारण हामीले राष्ट्रिय एकता खल्बिलिन नदिने कुरामा सचेत हुनुपर्छ । यदि हाम्रो राष्ट्रिय एकता खलबलियो भने हाम्रो परराष्ट्र नीतिमा पनि असर पर्छ । हामीले एउटा मुलुकका हिसाबले ठूला ठूला महत्वकांक्षा राख्छौँ । तर ती महत्वकाँक्षा पुरा गर्ने सामर्थ्य छ कि छैन ? हामीसँग नेसनल पावर पनि छैन, मिलिटरी पावर पनि छैन । हामीसँग सत्ता छ असंलग्न दृष्टिकोण राख्ने र कुराहरूको मेरिटको आधारमा विश्लेषण गर्ने कुराहरू हामीले वर्षौँदेखि जोगाउँदै आएका छौँ । हामीले विश्वसामु एउटा भरपर्दो इमेज बनाएका छौँ । यी कुरामा ध्यान दिँदै हामीले परराष्ट्र नीति अगाडि बढाउनुपर्छ ।’
उनले नेपालले लामो समयदेखि विश्वसामु बनाएको भरपर्दो छवि कायम राख्दै राष्ट्रिय हित, सार्वभौमसत्ता र राष्ट्रिय एकतालाई केन्द्रमा राखेर परराष्ट्र नीति अघि बढाउन सरकारलाई आग्रह समेत गरे ।






