काठमाडौँ । जाजरकोटको भेरी नगरपालिका-२, रिसाङ आसपासका क्षेत्रमा अविरल वर्षापछि गएको पहिरोमा परेका तथा विभिन्न स्थानमा फसेका नागरिकको खोज तथा उद्धारका लागि नेपाली सेना परिचालन भएको छ।
भवानीदल गणबाट साउन ३० गते साँझदेखि परिचालित सेनाको टोलीले अन्य सुरक्षा निकाय र स्थानीयवासीसँग समन्वय गरी उद्धार तथा खोजी कार्यलाई निरन्तरता दिइरहेको छ।
हालसम्म पहिरोमा परी घाइते भएका १० जनालाई उद्धार गरिएको छ। त्यस्तै दुई जनाको शव निकालिएको छ भने दुई जना बेपत्ताको खोजी कार्य जारी रहेको छ।
वर्षाका कारण जाजरकोटका विभिन्न तीन स्थानमा करिब ६० देखि ६५ जना नागरिक फसेको जनाइएको छ। उनीहरूलाई सुरक्षित स्थानमा ल्याउन सुरक्षा निकायको टोली परिचालन गरिएको छ।
यसै क्रममा राउतेरह क्षेत्रमा फसेका व्यक्तिमध्ये हालसम्म २० जनाको उद्धार गरिएको छ। बाँकी व्यक्तिको उद्धारका लागि पनि सुरक्षा टोलीले निरन्तर प्रयास गरिरहेको छ।
अविरल वर्षाका कारण पहिरो जाने क्रम र भौगोलिक कठिनाइका बीच उद्धार कार्य सञ्चालन गर्नुपरेको सुरक्षा निकायले जनाएको छ। नेपाली सेनाले स्थानीय तथा अन्य सुरक्षा निकायसँगको सहकार्यमा जोखिममा रहेका नागरिकको पहिचान तथा सुरक्षित स्थानान्तरणलाई प्राथमिकतामा राखेर अभियान अघि बढाइरहेको छ।






