काठमाडौँ । कृषि सामग्री कम्पनी दमौलीले एक वर्षको अवधिमा दुई हजार ७०० मेट्रिकटनभन्दा बढी मल बिक्री गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८२-८३ मा दुई हजार ७६६ दशमलव ६७ मेट्रिकटन मल बिक्री गरेको हो ।
कार्यालय प्रमुख विजया बास्कोटाका अनुसार तनहुँमा एक हजार ९०३ दशमलव शून्य ७५ मेट्रिकटन र लमजुङमा ८६३ दशमलव ६०० मेट्रिकटन मल बिक्री गरिएको छ । उक्त अवधिमा युरिया, डिएपी, पोटास र चुन मल बिक्री गरिएको उनले बताए ।
बास्कोटाका अनुसार तनहुँमा एक हजार ३८३ दशमलव १५० मेट्रिकटन युरिया, ४६५ दशमलव १०० मेट्रिकटन डिएपी, ४७ दशमलव २५० मेट्रिकटन पोटास र सात दशमलव ५७५ मेट्रिकटन चुन बिक्री गरिएको छ ।
यस्तै, लमजुङमा ६४३ दशमलव ८०० मेट्रिकटन युरिया, १७७ दशमलव २०० मेट्रिकटन डिएपी, ३५ दशमलव ९०० मेट्रिकटन पोटास र छ दशमलव ७०० मेट्रिकटन चुन बिक्री गरिएको प्रमुख बास्कोटाले जानकारी दिए । उक्त आवमा दुई हजार ७५१ मेट्रिकटन मल प्राप्त भएको थियो भने अघिल्लो आवको २०० दशमलव १२५ मेट्रिकटन मौज्दात थियो ।
आव २०८२-८३ मा बिक्री भएर १८४ दशमलव ४५० मेट्रिकटन मल चालु आवका लागि मौज्दात रहेको बास्कोटाले जानकारी दिए । आव २०८२-८३ मा युरिया दुई हजार २५ मेट्रिकटन, डिएपी ६०० मेट्रिकटन, पोटास १०५ मेट्रिकटन र चुन २१ मेट्रिकटन प्राप्त भएको थियो ।
प्रमुख बास्कोटाका अनुसार युरिया ११४ दशमलव ४००, डिएपी २१ दशमलव शून्य ५०, पोटास २२ दशमलव ५०० र चुन २६ दशमलव ५०० मेट्रिकटन मल मौज्दात छ । चालु आव २०८३/८४ को साउनको २८ गतेसम्म युरिया २७१ र डिएपी २०० मेट्रिकटन मल प्राप्त भएको छ । अघिल्लो वर्षको बाँकी रहेकोसहित हालसम्म ४३४ दशमलव ८०० मेट्रिकटन मल बिक्री भइसकेको छ ।
कार्यालयका सूचना अधिकारी मदन थपलियाका अनुसार प्रदेश मन्त्रालयले प्रत्येक स्थानीय तहका लागि मल बिक्रीको कोटा तोकेर पठाउने गरेको छ । प्रदेशबाट कोटा आएपछि स्थानीय तहमा रहेको मल व्यवस्थापन समितिले आफ्नो क्षेत्रमा आवश्यकताका आधारमा मलको मात्रा निर्धारण हुने उनले बताए ।
स्थानीय तहले निर्धारण गरेको कोटाअनुसार मल बिक्री गर्ने विक्रेताहरूले कार्यालयमा माग गर्छन् । विक्रेताले स्थानीय तहबाट पाएको कोटाको विवरण पेस गरेपछि कार्यालयले सोही कोटाका आधारमा मल उपलब्ध गराउने व्यवस्था रहेको थपलियाले जानकारी दिए ।






