काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि युरोपेली संघ (इयू) की राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेट गरेकी छन्।
सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा नेपाल-इयू सम्बन्ध, शिक्षा क्षेत्रमा जारी साझेदारी तथा सहकार्य विस्तारका सम्भावित क्षेत्रबारे छलफल भएको छ।
मन्त्री पोखरेलले विद्यालय शिक्षामा नीतिगत तथा संरचनागत सुधार अघि बढाइएको जानकारी दिएका छन्। शिक्षा ऐन तथा प्राविधिक एवं व्यावसायिक शिक्षा ऐनलाई अगाडि बढाउने क्रममा सुधार आवश्यक रहेका विषयसमेत समेटिने उनले बताए।
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन, प्राविधिक तथा व्यावसायिक शिक्षामा सुशासन प्रवर्द्धन र कार्यकारी भूमिकामा रहेको द्विविधा अन्त्य गर्न मन्त्रालयले काम गरिरहेको मन्त्री पोखरेलको भनाइ छ। शिक्षकको पेसागत विकास र डिजिटल शिक्षालाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको उनले जानकारी दिए।
मन्त्री पोखरेलले प्रारम्भिक बाल विकास (ईसीडी) शिक्षकलाई बालबालिकामा अटिजमको प्रारम्भिक पहिचान तथा स्क्रिनिङसम्बन्धी तालिम दिने तयारी भइरहेको बताए। यस क्षेत्रमा इयूसँगको सहकार्यलाई निरन्तरता दिन सकिने उनको भनाइ छ।
मन्त्रालयले अगाडि सारेका शैक्षिक सुधारका कार्यक्रममा आवश्यकताअनुसार इयूसँग साझेदारी गर्न तयार रहेको मन्त्री पोखरेलले उल्लेख गरेका छन्।
राजदूत लोरेन्जोले नेपालको शिक्षा क्षेत्रमा हुँदै आएको सहकार्य इयूको प्राथमिकतामा रहेको बताइन्। उनले शैक्षिक सुधारमा प्रदान गर्दै आएको सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाइन्।
नेपालको शिक्षा क्षेत्र सुधारका लागि सन् २०२८ देखि २०३४ सम्मको आवश्यक कार्यढाँचा तयार पार्ने काम भइरहेको जानकारी दिँदै राजदूत लोरेन्जोले विद्यालय शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा, डिजिटल शिक्षा र शिक्षकको पेसागत विकासमा सहकार्य गर्न इयू तयार रहेको बताइन्।






