काठमाडौँ । प्रतिनिधि सभाकी उपसभामुख रुवीकुमारी ठाकुरले पत्रकार किशोर श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी छन्। जनआस्थामा प्रकाशित समाचारले आफ्नो चरित्र, इज्जत र प्रतिष्ठामा क्षति पुर्याएको दाबी गर्दै उनले जाहेरी दिएकी हुन्।
सर्वोच्च अदालतले श्रेष्ठलाई रिहा गर्न आदेश दिएकै दिन उनीविरुद्ध उपसभामुख ठाकुरका तर्फबाट अर्को जाहेरी दर्ता भएको हो।
जिल्ला प्रहरी परिसर ललितपुरका एक अधिकारीले जाहेरी प्राप्त भएको र प्रक्रियामा रहेको जानकारी दिएका छन् ।
समाचारमा सम्बन्धलाई गलत ढङ्गले चित्रण गरिएको दाबी
उपसभामुख ठाकुरले जनआस्थामा प्रकाशित समाचारमा दीपकजङ्गसँगको आफ्नो सम्बन्धलाई गलत ढङ्गले चित्रण गरिएको दाबी गरेकी छन्। उनले दीपकजङ्गलाई आफूले रक्षा बन्धनमा राखी बाँध्दै आएको ‘दाइ’का रूपमा उल्लेख गरेकी छन्।
‘उहाँ (दीपकजङ्ग) मेरो राखी बाँध्ने दाइ हो। अघिल्लो साल पनि बाँधेको, यो साल पनि बाँध्छु। तर जनआस्थाले हामीले गाडीमा चुम्बन गरेको भनेर समाचार हालेर चरित्र हत्या गरेको छ। त्यसको विरुद्धमा जाहेरी दिएको हुँ,’ ठाकुरले भनेकी छन्।
उपसभामुख ठाकुरका तर्फबाट उनको सचिवालयका प्रतिनिधि जिल्ला प्रहरी परिसर ललितपुर पुगेर जाहेरी दिएका थिए। दुई पृष्ठको जाहेरीमा प्रकाशित समाचारबाट आफ्नो इज्जत र प्रतिष्ठामा अपूरणीय क्षति पुगेको दाबी गरिएको छ।
जाहेरीमा उक्त विषयलाई आफ्नो व्यक्तिगत प्रतिष्ठासँगै प्रतिनिधि सभाको गरिमासँग समेत जोडिएको उल्लेख गरिएको छ।
‘संवैधानिक पदमा आसिन उपसभामुख जस्तो जिम्मेवार ओहोदामा रहेकी ममाथि यस्तो व्यवहार केवल मेरो पीडा मात्र होइन, प्रतिनिधिसभाको गरिमा र मुलुककै प्रतिष्ठामाथि सिधा आक्रमण हो भन्ने स्पष्ट देखिन्छ,’ जाहेरीमा भनिएको छ।
यसअघि पक्राउ परेका थिए श्रेष्ठ
श्रेष्ठलाई जनआस्था अनलाइनमा प्रकाशित समाचार तथा तस्बिरका कारण वैयक्तिक गोपनीयताको हक उल्लङ्घन भएको आरोपमा प्रहरीले गत साउन २७ गते पक्राउ गरेको थियो। त्यसपछि उनी हिरासतमा थिए।
श्रेष्ठको पक्राउविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले सोमबार उनलाई रिहा गर्न आदेश दिएको हो।
सर्वोच्चको आदेशमा समाचारमा प्रयोग गरिएको तस्बिर जाहेरवाला स्वयंले सामाजिक सञ्जालमा राखेको देखिएको उल्लेख छ। उक्त तथ्यलाई विपक्षीले खण्डन गर्न नसकेको विषयसमेत आदेशमा उल्लेख गरिएको छ।
सर्वोच्चबाट रिहाइको आदेश आएको दिन नै श्रेष्ठविरुद्ध उपसभामुख ठाकुरका तर्फबाट नयाँ जाहेरी दर्ता भएको हो।






