काठमाडौँ। बैंकका कर्मचारीको परिचय दिँदै बहालवाला तथा पूर्वकर्मचारीलाई लक्षित गरेर अनलाइन ठगी गर्ने समूहका चार सदस्य पक्राउ परेका छन्। नेपाल प्रहरीको साइबर ब्यूरोले बैंक खातासँग सम्बन्धित विवरण अद्यावधिक गर्नुपर्ने भन्दै पीडितलाई सम्पर्क गरी रकम हिनामिना गर्ने गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
ब्युरोका अनुसार ठगीमा संलग्न व्यक्तिहरूले बैंकबाट फोन गरेको दाबी गर्दै केवाइसी विवरण अद्यावधिक गर्नुपर्ने भन्दै फोन तथा ह्वाट्सएपमार्फत सम्पर्क गर्ने गरेका थिए। त्यसक्रममा पीडितलाई मोबाइल वा कम्प्युटरको स्क्रिन साझा गर्न लगाउने र गोप्य ओटीपी कोडसमेत माग्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
यसरी प्राप्त ओटीपी, बैंकिङ विवरण तथा अन्य संवेदनशील सूचनाको प्रयोग गरी पीडितको खातामा अनधिकृत रूपमा प्रवेश गर्ने र रकम अन्य बैंक खातामा पठाउने गरेको साइबर ब्यूरोले जनाएको छ।
प्राविधिक अनुसन्धानबाट ठगीसँग सम्बन्धित व्यक्तिहरू पहिचान भएपछि ब्यूरोले जिल्ला प्रहरी कार्यालय चितवनसँगको समन्वयमा गत साउन ३१ गते चितवनबाट चार जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बारा देउताल गाउँपालिका-४ का २२ वर्षीय अभय तिवारी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रामग्राम नगरपालिका-१६ का २२ वर्षीय जयकुमार केवट, सोही नगरपालिकाको वडा नम्बर १७ का २२ वर्षीय विद्यासागर केवट र पर्साको वीरगञ्ज महानगरपालिका-३ का २७ वर्षीय कुबेर थापा छन्।
ब्युरोका अनुसार पक्राउ परेकामाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत अनधिकृत पहुँच तथा विद्युतीय माध्यमबाट ठगी गरेको कसुरमा अनुसन्धान भइरहेको छ। काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाइएको ब्यूरोले जनाएको छ।
साइबर ब्यूरोले बैंक तथा वित्तीय संस्थाले फोन वा सन्देशमार्फत गोप्य ओटीपी, पासवर्ड तथा स्क्रिन पहुँच माग्ने अवस्थाप्रति सचेत रहनुपर्ने जनाएको छ। विशेष गरी केवाइसी अद्यावधिकको बहानामा अपरिचित व्यक्तिलाई बैंकिङ विवरण वा उपकरणको पहुँच उपलब्ध गराउँदा आर्थिक क्षति हुन सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने देखिएको छ।







