काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवा प्रदायकहरूले कानुनी तथा नियामकीय व्यवस्थाको अधीनमा रहेर स्वच्छ र व्यावसायिक प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन्।
एनसेल आजियाटा लिमिटेडका प्रतिनिधिसँग मंगलबार मन्त्रालयमा भएको भेटमा मन्त्री तिमिल्सिनाले दूरसञ्चार क्षेत्रलाई पारदर्शी, प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकार प्रतिबद्ध रहेको बताए।
मन्त्रालयका लागि सबै दूरसञ्चार सेवा प्रदायक समान रहेको उल्लेख गर्दै उनले प्रचलित कानुन पालना गरी व्यावसायिक गतिविधि सञ्चालन गर्ने कम्पनीलाई सरकारले आवश्यक सहयोग गर्ने स्पष्ट पारे।
“एनसेलले स्वच्छ प्रतिस्पर्धा गर्ने र विगतमा भएका कमीकमजोरी पनि सच्याउने प्रतिबद्धतासहित आउनुपर्छ। कानुनअनुसार काम गर्ने कम्पनीलाई सरकारले समान व्यवहार गर्छ,” मन्त्री तिमिल्सिनाले भने।
मन्त्री तिमिल्सिनाले एनसेलसँग सम्बन्धित विगतका विवाद र कानुनी प्रश्नको पारदर्शी ढंगले छानबिन गरिने बताए। आगामी दिनमा त्यस्ता समस्या दोहोरिन नदिन कम्पनीले समेत आफ्नो कार्यशैली सुधार गर्नुपर्ने उनको भनाइ थियो।
दूरसञ्चार क्षेत्रमा स्वच्छ र स्वस्थ पारिस्थितिक प्रणाली निर्माण गर्न सरकार तथा नियामक निकाय तयार रहेको उल्लेख गर्दै उनले सेवा प्रदायक संस्थालाई समन्वयात्मक रूपमा अगाडि बढ्न आग्रह गरे।
विगतका गल्ती सच्याउने र भविष्यमा त्यस्ता कमजोरी दोहोरिन नदिने जिम्मेवारी सरकार तथा नियामक निकायको पनि भएको उनले बताए।
एनसेलका विगतका विवादको निरूपण तथा अनुमति पत्रको अवधि समाप्त भएपछि हुने स्वामित्व हस्तान्तरण विद्यमान विधि र कानुनअनुसार गरिने मन्त्री तिमिल्सिनाले स्पष्ट पारे।
भेटमा मन्त्रालयका सहसचिवद्वय उदयबहादुर रानामगर र गौरव गिरी तथा कानुन शाखाका उपसचिव राजेशकुमार थापा सहभागी थिए।
छलफलमा एनसेल आजियाटा लिमिटेडका चिफ रेगुलेटरी एन्ड कर्पोरेट सर्भिसेज अफिसर डिल्लीराम श्रेष्ठले कम्पनीको सेवा र व्यावसायिक प्रणाली सुधारका लागि विभिन्न काम अगाडि बढाइएको जानकारी दिए।
श्रेष्ठले सब्स्क्रिप्सन मोडल सुधार, ‘पे एज यु गो’ प्रणाली कार्यान्वयन तथा फाइभजी सेवा प्रारम्भ गर्ने सरकारी पहललाई कम्पनीले सकारात्मक रूपमा लिएको बताए।






