काठमाडौँ । धनकुटाको महालक्ष्मी नगरपालिका-२ स्थित गौँथली भिरबाट एक स्थानीयको शव नेपाली सेनाको टोलीले उद्धार गरेको छ।
जटिल भौगोलिक अवस्थिति रहेको उक्त क्षेत्रमा मृत अवस्थामा फेला परेको शव भीमदल गणबाट परिचालित सैनिक टोलीले अन्य सुरक्षा निकायसँगको समन्वयमा उद्धार गरेको हो।
उद्धारपछि शव आवश्यक कानुनी प्रक्रिया पूरा गर्न नेपाल प्रहरीको जिम्मा लगाइएको नेपाली सेनाले जनाएको छ।
दुर्गम तथा जोखिमपूर्ण भूगोलमा हुने उद्धार कार्यमा नेपाली सेनाले अन्य सुरक्षा निकायसँग समन्वय गर्दै सहयोग गर्दै आएको छ।






