काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको विधान संशोधनका लागि एक कार्यदल गठन गरेको छ ।
बुधवार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले मुख्य सचेतकको संयोजकत्वमा उक्त कार्यदल गठन गरेको हो ।
बैठकको निर्णयबारे जानकारी दिँदै संसदीय दलका उपनेता गणेश पराजुलीले संसदीय दलको विधानलाई आवश्यकताअनुसार परिमार्जन गर्न सात दिनको समयसीमा तोकेर कार्यदल बनाइएको बताए । उक्त कार्यदलले तयार पार्ने कार्यविधिले सांसदहरूको सदनमा उपस्थिति, संसदीय मर्यादा, जिम्मेवारी वोध र कानून निर्माण प्रक्रियामा उनीहरूको भूमिकालाई थप सशक्त र जनपक्षीय बनाउने विश्वास लिइएको छ ।
पार्टी सभापतिसहित शीर्ष नेताहरू र मन्त्रीहरूको उपस्थितिमा भएको उक्त बैठकमा सरकारका गतिविधि र मन्त्रालयगत कामकारबाहीबारे विस्तृत छलफल भएको छ ।
बैठकमा सहभागी मन्त्रीहरूले आ-आफ्नो मन्त्रालयबाट भए गरेका प्रगति र गतिविधिहरूको विवरण प्रस्तुत गर्नुभएको थियो भने सांसदहरूले आ-आफ्नो निर्वाचन क्षेत्रका समस्या र जनस्तरबाट आएका गुनासाहरू राखेका थिए ।
बैठकमा सरकारले गरेका कामहरूलाई आम जनतासम्म पुर्याउन देखिएका समस्या र सञ्चार समन्वयमा भएका कमजोरीका विषयमा पनि समीक्षा गरिएको छ । उपनेता पराजुलीका अनुसार बजारमा ग्यास आपूर्तिको अवस्था र जनस्तरमा देखिएको अभावका विषयमा समेत बैठकमा चर्चा भएको छ ।
उनले भने, ‘गत वैशाखमा २२ लाख सिलिण्डर बजारमा पुगेकोमा साउन महिनामा ४० लाख पुग्दा पनि किन अभाव देखियो भन्ने विषयमा माननीय मन्त्रीज्यूहरूले जानकारी गराइरहनुभएको छ ।’
सदन र सरकारका कामकारबाहीलाई थप प्रभावकारी बनाउने उद्देश्यले बैठक बसेको हो ।






