काठमाडौँ । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको कार्यकालमा राष्ट्रियता, लोकतान्त्रिक व्यवस्था र जनजीविकासँग सम्बन्धित विषयमा गम्भीर चुनौती देखिएको बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा धारणा राख्दै थापाले सरकारको परराष्ट्र नीति तथा राष्ट्रिय सुरक्षा व्यवस्थापनप्रति प्रश्न उठाएका छन्। उनले तिब्बती पक्ष तथा पश्चिमी कूटनीतिज्ञहरूलाई दलाई लामाको जन्मोत्सवका नाममा नेपालमा राजनीतिक गतिविधि गर्न सरकारले अनुमति दिएको आरोप लगाए।
गत भदौमा भएको सत्ता परिवर्तनको घटनामा दलाई लामाबाट बधाई तथा शुभकामना आएको उल्लेख गर्दै थापाले उक्त घटनामा तिब्बती मूलका व्यक्तिहरू अग्रपंक्तिमा संलग्न भएको दाबी गरे। सो घटनाप्रति चीन सरकारले चासो र चेतावनी व्यक्त गरेको उनको भनाइ छ।
चीनको आपत्तिपछि नेपालमा आयोजना गर्ने भनिएको अन्तर्राष्ट्रिय सम्मेलन स्थगित भएको दाबीसमेत थापाले गरेका छन्।
यसै क्रममा उनले केही शोधकर्ताहरूको दाबी उद्धृत गर्दै तिब्बती गुम्बाहरूमा ठूलो मात्रामा हतियार तथा शक्ति जम्मा भइरहेको हुनसक्ने आशंका व्यक्त गरे। भदौमा लुटिएका हतियारसमेत त्यस्ता गुम्बामा लुकाइएको हुनसक्ने आशंका रहेको उनले बताए।
नेपालले निर्वासित तिब्बतीहरूलाई मानवीय आधारमा आश्रय दिएको भए पनि उनीहरूलाई राजनीतिक शरणार्थीको मान्यता नदिएको विषयमा पनि थापाले ध्यानाकर्षण गराएका छन्।






