काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्।
बुधबार प्रदेश सभामा प्रस्तुत गरिएको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले अनुमोदन गरेपछि शाहीले सरकार सञ्चालनका लागि संवैधानिक आधार पाएका हुन्।
४० सदस्यीय प्रदेश सभाको बैठकमा ३६ जना सांसद सहभागी थिए। मतदानमा मुख्यमन्त्रीको पक्षमा २१ मत परेको थियो भने १३ सांसदले विपक्षमा मतदान गरेका थिए। दुई सांसद तटस्थ बसेका थिए।
सरकार गठनका लागि आवश्यक २१ सांसदको समर्थन शाहीले मतदानबाटै प्राप्त गरेका छन्। कर्णाली प्रदेश सभामा सत्तारुढ नेकपाका १४ र नेकपा (एमाले)का १० गरी २४ सांसद छन्, जसमा एमालेका सभामुखसमेत समावेश छन्।
नेपाली काँग्रेसका १५ सांसद छन्। यसबाहेक नेकपा परित्याग गरेका पूर्वमुख्यमन्त्री राजकुमार शर्मा तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका एक सांसद प्रदेश सभामा रहेका छन्।
प्रदेश सभाकी सभामुख नन्दा गुरुङले विश्वासको मत प्रस्तावको पक्षमा बहुमत प्राप्त भएको घोषणा गर्दै मुख्यमन्त्री शाहीले विश्वासको मत हासिल गरेको जानकारी दिइन्।
नेकपा (एमाले)को समर्थनमा नेपाली कम्युनिस्ट पार्टीका प्रदेश संसदीय दलका नेता शाही गत १२ साउनमा कर्णालीको मुख्यमन्त्रीमा नियुक्त भएका थिए।






