काठमाडौँ । पोखराको विजयपुर खोला तर्ने क्रममा गत साउन ३० गते बगेर बेपत्ता भएका दुई किशोरको शव भेटिएको छ ।
सुरक्षाकर्मीले गोताखोरसहित विभिन्न विधि प्रयोग गरी खोजी गर्ने क्रममा पोखरा-१४ चाउथेका १५ वर्षीय ओमन राईको शव तनहुँको शुक्लागण्डकी नगरपालिका-८ पुल्चोकस्थित सेती नदी किनारमा आज भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए ।
यसअघि अर्का बेपत्ता स्याङ्जा स्थायी घर भई पोखरा-१४ छिनेडाँडा बस्ने १४ वर्षीय निक्सन गुरुङको शव मंगलबार घटनास्थलभन्दा डेढ किमी तल खोलाको बीचमा ढुंगामा अड्किएको अवस्थामा फेला परेको थियो ।
सेती नदीमा खोजी गर्ने क्रममा तनहुँमा भेटिएको राईको शव आमाले सनाखत गरेपछि परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको सहायक प्रजिअ बरालले बताउनुभयो । साथीहरूसँग फुटबल खेल्न विजयपुर खोला तरेर पोखरा-२६ सक्नेरी जाने क्रममा दुवै जनालाई खोलाले बगाएको थियो ।






