काठमाडौँ । कञ्चनपुरको महेन्द्रनगरस्थित यातायात व्यवस्था कार्यालयमा कार्यरत कर्मचारीमाथि अभद्र व्यवहार र हातपातको प्रयास गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
भीमदत्त नगरपालिका-१८ का हेमन्त चन्दलाई कार्यालयका सहायक कम्प्युटर अपरेटर विमलबहादुर कुँवरमाथि दुर्व्यवहार गरेको आरोपमा बुधबार पक्राउ गरिएको हो।
कार्यालयका सूचना अधिकारी रामदत्त भट्टका अनुसार दिउँसो करिब साढे ३ बजे कार्यालय परिसरमा पुगेका चन्दले कुँवरसँग गालीगलौज गर्दै हातपातको प्रयास गरेका थिए। घटनापछि केही समय कार्यालयको नियमित सेवा प्रवाहमा समेत असर परेको उनले जानकारी दिए।
कार्यालयका अनुसार घटनाको कारण सेवाग्राहीको कामसँग सम्बन्धित विवाद नभई व्यक्तिगत विषय रहेको प्रारम्भिक जानकारी छ। व्यक्तिगत विषयलाई लिएर कर्मचारीमाथि दुर्व्यवहार भएको कार्यालयले जनाएको छ।
सार्वजनिक सेवा प्रवाहमा खटिएका कर्मचारीमाथि कार्यालय परिसरमै गालीगलौज तथा हातपातको प्रयास भएको भन्दै कार्यालयले घटनामा संलग्न व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गर्न माग गरेको छ।
प्रहरीले घटनामा पक्राउ परेका व्यक्तिमाथि आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।






