काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले संसदीय सुनुवाइ समितिको आन्तरिक छलफल र क्षेत्राधिकारका विषयमा गम्भीर हुनुपर्ने बताएका छन् ।
शुक्रवार सिंहदरबारमा आयोजित समितिको बैठकमा बोल्दै उनले समितिका दस्ताबेजहरूको अध्ययन, कानूनी विश्लेषण र आन्तरिक प्रक्रियालाई सार्वजनिक गर्दा विशेष सावधानी अपनाउनुपर्ने बताएका हुन् ।
प्रमुख सचेतक बुर्लाकोटीले समितिका छलफलहरू पारदर्शी हुनुपर्ने भएपनि निर्णय प्रक्रियामा पुग्नुअघिका कतिपय प्राविधिक र आन्तरिक विषयहरूलाई बाहिर लैजाँदा ध्यान दिनुपर्ने बताए।
सदस्यहरूले दस्ताबेजको अध्ययन गरे वा नगरेको जस्ता विषयहरू स्वयं सदस्यको जिम्मेवारी भएको र यस्ता विवरणहरू सभापतिमार्फत सार्वजनिक गरिनु आवश्यक नभएको उनको तर्क छ । बैठकमा समितिमा प्राप्त हुने उजुरीहरूको सन्दर्भमा बोल्दै बुर्लाकोटीले सबै प्रकारका उजुरीमाथि छलफल गर्ने क्षेत्राधिकार सुनुवाइ समितिसँग नरहेको स्पष्ट पारे ।
नियमित रूपमा सूचनाको हक प्रयोग गर्ने र उजुरी दिने प्रवृत्तिलाई नजरअन्दाज गर्न नमिल्ने भएपनि, क्षेत्राधिकारभन्दा बाहिरका उजुरीहरूलाई सम्बन्धित निकायमा पठाउनुपर्ने उनले सुझाव दिए।
उनले भने, ‘समितिले गर्ने अध्ययन, परीक्षण र कानूनी विश्लेषणका आधारमा अन्तिम निष्कर्ष निकाल्नुपर्छ । यस्ता कतिपय विषयमा कानूनी पक्ष समेत जोडिने भएकाले हामी संवेदनशील हुनुपर्छ । हाम्रो समितिमा प्राप्त भएका उजुरीहरूको प्रकृति हेरी गृह मन्त्रालय वा संसद्को सम्बन्धित समितिमा आवश्यक छानबिन र कार्यान्वयनका लागि पठाउनु उपयुक्त हुन्छ । आफ्नो कार्यक्षेत्रमा नपर्ने विषयमा छलफल गर्दा हामी न कुनै निष्कर्षमा पुग्न सक्छौँ, न त ठोस निर्देशन नै दिन सक्छौँ । त्यसैले यस्ता विषयलाई प्रक्रियागत रूपमा अगाडि बढाउनु नै बुद्धिमानी हुन्छ ।’
उनले समितिको समय र गरिमाको रक्षा गर्दै क्षेत्राधिकारभित्र रहेर मात्र कार्यसम्पादन गर्न समितिको ध्यानाकर्षण गराए ।






