काठमाडौँ । दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका कैलालीस्थित कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य देवबहादुर बमविरुद्ध म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
विशेष अदालतले शुक्रबार भ्रष्टाचारसम्बन्धी कसुरमा अनुसन्धान गर्न म्याद थप गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथिको अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो।
गौरीगंगा नगरपालिका-४ स्थित कालिका माध्यमिक विद्यालयको व्यवस्थापन समितिका सदस्य बमलाई अख्तियारको कञ्चनपुर कार्यालयबाट खटिएको टोलीले भदौ ४ गते नियन्त्रणमा लिएको थियो।
आयोगका अनुसार तोकिएबमोजिमको थप सेवा–सुविधा तथा पारिश्रमिक उपलब्ध गराउन सेवाग्राहीसँग घुस मागेको सूचना र उजुरीका आधारमा टोली परिचालन गरिएको थियो।
बमलाई सेवाग्राहीबाट दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित धनगढी उपमहानगरपालिका-१ बाट नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेले विशेष अदालतको आदेशबाट म्याद थप भई घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।






