काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पाल्पाले ठूला चाडपर्व नजिकिएसँगै बजारमा वस्तु तथा सेवाको कारोबार बढ्ने भएकाले उपभोक्ता अधिकार संरक्षणमा जिम्मेवार बन्न सबै पक्षलाई आग्रह गरेको छ।
कार्यालयले सार्वजनिक सूचना जारी गर्दै बजारमा हुने भिडभाड तथा वस्तु र सेवाको खरिदबिक्री बढ्दा उपभोक्ता हितविपरीतका गतिविधि हुन सक्ने जोखिमप्रति सचेत गराएको हो।
उपभोक्ता संरक्षण ऐन, २०७५, नियमावली, २०७६ र बजार अनुगमन निर्देशिका, २०७९ मा उपभोक्ता अधिकार संरक्षणसम्बन्धी व्यवस्था रहेको प्रशासनले जनाएको छ। ती व्यवस्थाको कार्यान्वयनमा सरकारी निकाय, जिम्मेवार अधिकारी, निजी तथा व्यावसायिक क्षेत्र र उपभोक्ता सबैको भूमिका रहने सूचनामा उल्लेख छ।
प्रशासनले सरकारी तथा निजी क्षेत्रका उत्पादक, आयातकर्ता, सञ्चयकर्ता, विक्रेता र सेवा प्रदायकलाई कानुनी तथा व्यावसायिक दायित्व पालना गर्न आग्रह गरेको छ। उपभोक्ता संरक्षण ऐनको दफा १६९२० विपरीत अनुचित व्यापारिक तथा व्यावसायिक गतिविधि नगर्न पनि सचेत गराइएको छ।
कुनै वस्तु वा सेवा खरिद गर्दा सही मूल्य, गुणस्तर, उपभोग्य म्याद र तोकिएअनुसारको तौल जाँच गर्न उपभोक्तालाई अनुरोध गरिएको छ। वस्तु तथा सेवाको उपलब्धतामा असर पर्ने गरी तत्कालको आवश्यकताभन्दा बढी परिमाण सञ्चय नगर्न पनि प्रशासनले आग्रह गरेको छ।
कार्यालयले उपभोक्ता हितविपरीतका गतिविधि भएको पाइए स्थानीय प्रशासनलाई जानकारी गराउन अनुरोध गरेको छ। सूचना सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंले जारी गरेका हुन्।







