काठमाडौँ। पर्सा प्रहरीले ९४ लाख ९१ हजार ५८८ रुपैयाँ बराबरका भन्सार छलीका कस्मेटिक सामानसहित एउटा पिकअप गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले शुक्रबार बिहान करिब १० बजे वीरगन्ज महानगरपालिका–२५ स्थित प्रतिमा चोकमा बागमती प्रदेश ०३-०३४ च ६९२८ नम्बरको टाटा योद्धा पिकअप गाडी जाँच गरेको थियो।
जाँचका क्रममा गाडीभित्र भन्सार छली गरी ल्याइएका विभिन्न ब्रान्डका कस्मेटिक सामान फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। बरामद सामानका प्याकेट तथा कार्टुनको बाहिरी भागमा ‘दराज अनलाइन सपिङ’को होलोग्राम टाँसिएको प्रहरीले उल्लेख गरेको छ।
गाडीबाट मामा अर्थ फेसवास ७४० थान, मुछस्ट्याक ओसन फेसवास ७२ थान, नियासिनामाइड डेली फेस सिरम २० थान, मामा अर्थ ब्राइट सनस्क्रिन २९५ थान र केमिस्ट एट प्ले २८ थान बरामद गरिएको छ।
त्यस्तै, मामा अर्थ बेबी ६९ थान, स्याडो ५८ थान, डबल ट्रबल १२ थान, हाइब्रिड सनस्क्रिन ३५ थान, लिप स्टे १४ थान, ब्राइट एन्ड इभन क्रिम आठ थान, मेलो ९६ थान, मिनिमलिस्ट सिरम २०४ थान, डर्मा ११ थान र पिलग्रिम पाँच थान बरामद गरिएको प्रहरीले जनाएको छ। विभिन्न ब्रान्डका अन्य सामान रहेका १६ कार्टुनसमेत फेला परेका छन्।
प्रहरीका अनुसार सामानसँग सम्बन्धित आवश्यक बिल, बीजक तथा प्रज्ञापनपत्र चालकले देखाउन सकेका थिएनन्। बरामद सामान र गाडीको अनुमानित मूल्य ९४ लाख ९१ हजार ५८८ रुपैयाँ कायम गरिएको छ।
प्रहरीले गाडीका चालक बाराको सिम्रौनगढ नगरपालिका-९ बस्ने ५० वर्षीय श्यामबहादुर स्याङ्तानलाई नियन्त्रणमा लिएको छ।
बरामद सामान, गाडी र चालकलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।






