काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेश सरकारमा सहभागी भएका आफ्ना तीन प्रदेश सभा सदस्यसँग स्पष्टीकरण मागेको छ।
पार्टीको केन्द्रीय अनुशासन समितिले राजु बिष्ट, राजेन्द्र प्रजापति र गीरबहादुर तामाङलाई १२ घण्टाभित्र जवाफ पेस गर्न निर्देशन दिएको हो। उनीहरू पार्टीको निर्णय तथा निर्देशन विपरीत प्रदेश सरकारमा मन्त्री बनेको राप्रपाको भनाइ छ।
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तीनै जनालाई कारबाही गर्नु नपर्ने आधार र कारण खुलाएर निर्धारित समयभित्र स्पष्टीकरण बुझाउन भनेको छ। उनीहरूले प्रदेश सरकारको मन्त्री पदमा शपथ लिएपछि पार्टीले अनुशासनसम्बन्धी प्रक्रिया अगाडि बढाएको हो।
यसअघि बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले निजी लेटरप्याड प्रयोग गरी पार्टीका तर्फबाट भन्दै प्रदेश सरकारलाई समर्थन जनाएका थिए। उक्त विषयमा राप्रपाले थापाको पार्टी सदस्यता निलम्बन गर्नुका साथै उनलाई प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएको जानकारी गराइसकेको छ।
मन्त्री बनेका तीन सांसदबाट प्राप्त स्पष्टीकरण अध्ययन गरेपछि थप निर्णय लिइने भएको छ। पार्टीको नीति, निर्णय तथा निर्देशन उल्लंघन भएको ठहरिए उनीहरूमाथि अनुशासनात्मक कारबाही अगाडि बढ्ने राप्रपाले संकेत गरेको छ।






