काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले कुष्ठरोग लागेका व्यक्तिलाई भेदभाव गर्नु तथा अधिकारबाट वञ्चित गर्नु सामाजिक अन्याय भएको बताएकी छन् ।
आइतबार काठमाडौँमा नेपाल कानून समाज, एशोसिएशन फर आइडिया नेपाल, कुष्ठरोग निवारण संघ, राष्ट्रिय कुष्ठ प्रभावित कल्याण संघ र पुन:स्थापना, सशक्तीकरण तथा विकास नेपालले राजधानीमा आयोजना गरेको कुष्ठ प्रभावित व्यक्तिहरूको कानूनी साक्षरता तथा क्षमता अभिवृद्धि अभिुखिकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले कुष्ठरोग व्यक्तिको पहिचान नभई स्वास्थ्यसम्बन्धी अवस्था मात्र भएको उल्लेख गर्दै प्रभावित व्यक्तिमाथि कुनै पनि प्रकारको विभेद गर्न नहुनेमा जोड दिइन् । उनले समाजमा कुष्ठरोगभन्दा पनि रोगप्रति मानिसले गर्ने व्यवहार समस्या बनेको बताइन् ।
डंगोलले कुष्ठरोगसम्बन्धी सामाजिक सचेतना कार्यक्रम सञ्चालन गर्न काठमाडौँ महानगरपालिका सरोकारवाला पक्षसँग सहकार्य गर्न तयार रहेको पनि बताइन् । उनले कुष्ठरोगप्रति डर फैलाउनुभन्दा यसको उपचार र समयमै पहिचानका विषयमा सरोकारवाला निकायहरूले चर्चा गर्न आवश्यक रहेको पनि बताइन् । उहाँले समाजमा कुष्ठरोग प्रभावितलाई देख्ने बित्तिकै फरक दृष्टिले हेर्ने मानसिकता तोड्न सबै तहको सरकारले सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा समेत जोड दिइन्।
उनले भनिन्, ‘कुष्ठरोग लागेका व्यक्तिलाई अपमान गर्नु, भेदभाव गर्नु र अधिकारबाट वञ्चित गर्नु भनेको सामाजिक अन्याय हो । र यो सामाजिक अन्याय हो भन्ने कुरा धेरै भन्दा धेरै नागरिकलाई बुझाउन पनि जरुरी छ । रोग आफैमा समस्या त होइन तर रोगको विषयमा हामीले समाजमा गर्ने व्यवहार समस्याको रूपमा देखा परेको छ । कुष्ठरोगका विषयमा जसलाई रोग लागेको छैन तर उहाँहरूलाई पनि बुझाउन जरुरी छ । र यो बुझेको खण्डमा मात्र हामीले समाजमा विभेद गर्न हुँदैन, उहाँहरूलाई अन्याय गर्न हुँदैन, उहाँहरूको अधिकारबाट वञ्चित गर्न हुँदैन । यस्तो गर्नु भनेको सामाजिक अन्याय हो भन्ने सचेतना पनि त्यत्तिकै महत्वपूर्ण मैले महसुस गरेको छु । र यो कार्यक्रम यसरी अवेयरनेस प्रोग्राममा काठमाडौँ महानगरपालिका यहाँहरूसँग सहकार्य गरेर अघि बढ्नका लागि तयार छ । आगामी दिनमा सोसियल अवेयरनेस प्रोग्राम पनि गरौँ भन्ने पनि म अनुरोध गर्न चाहन्छु । कुष्ठरोग भनेको व्यक्तिको पहिचान होइन । यो हाम्रो हेल्थ कन्डिसन मात्र हो व्यक्तिको पहिचान नै होइन । देख्ने बित्तिकै कुष्ठरोग लागेको मान्छे भनेर भन्ने खालका जुन परिपाटी अथवा भनौँ मेन्टालिटी छ, त्यो पनि चिर्न एकदमै जरुरी छ । यो कानुनी साक्षरता कार्यक्रम र क्षमता अभिवृद्धि कार्यक्रमबाट सिक्नुभएको कुरा आफूमा मात्र सीमित नराख्नुस् । त्यसको साथै कानुनमा कतै विभेद छ, कतै अन्जानमा लेखिएका कुराहरूलाई परिभाषा गर्दाखेरि हाम्रो अधिकारबाट वञ्चित हुने खालका कुराहरू छन् भने त्यसलाई संशोधन गर्न पनि यहाँहरुले सुझाव दिन नछोड्नुहोला ।’
कानूनमा रहेका विभेदकारी वा अनजानमै अधिकारबाट वञ्चित हुने अवस्था सिर्जना गर्ने प्रावधान संशोधनका लागि सुझाव दिन समेत कुष्ठ प्रभावितलाई आग्रह गरिन्।






