काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो सांगठनिक सञ्जाललाई विश्वका १०० भन्दा बढी मुलुकमा विस्तार गर्ने लक्ष्य राखेको छ ।
नेपाल चेम्बर अफ कमर्स र एनआरएनएबीच आइतबार आयोजित समझदारी पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै संघका अध्यक्ष डा. हेमराज शर्माले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।
अध्यक्ष डा. शर्माले नेपाली हुनुको पहिचान भूगोल र कानूनमा मात्र सीमित नहुने बताए । नेपाली डायस्पोराको बढ्दो संख्या र सामर्थ्यबारे चर्चा गर्दै डा. शर्माले नेपालभित्रको जनशक्ति भन्दा नेपालबाहिर रहेको युवा जनशक्तिको अनुपात र उनीहरूको आर्थिक उपार्जन क्षमता ठूलो भइसकेको उल्लेख गरे । विश्वका सानादेखि ठूला सहरहरूमा नेपाली उत्पादनको पहुँच पुगिसकेको र पछिल्लो समय ढुवानी लागत समेत कम भएकाले नेपाली सामग्रीहरूको अन्तर्राष्ट्रिय बजारीकरण सहज भएको उनको भनाइ छ ।
अध्यक्ष शर्माले भने, ‘यो भूगोल र कानुनलाई हटाइदिने हो भने हामी जहाँ बसे पनि नेपाली नै हौँ । गैरआवासीय नेपाली भन्नै परेन । कानूनी हिसाबले वा अन्य हिसाबले हामी गैरआवासीय भए पनि नेपाली नै हौँ । वास्तवमा हामीले यही भावनालाई लिएर अगाडि बढ्नुपर्छ जस्तो मलाई लाग्छ । यो भूगोललाई हटाइदिने हो र हामी कुन देशका नागरिक, कहाँ बस्छौँ भन्ने कुरा छोडिदिने हो भने नेपाल अहिले विश्वभरि नै फैलिएको छ । यहाँले भनेजस्तै, हाम्रो रेकर्डअनुसार ११० राष्ट्रमा नेपालीहरू छन् । त्योभन्दा बढी राष्ट्रमा पनि हुन सक्नुहुन्छ । ९२ देशमा त हाम्रो गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद् ९एनसीसी० नै छन् । यो कार्यकालमा हामीले १०० भन्दा बढी देशमा पुर्याउँछौँ भनिसकेपछि संसारै नेपाल हो भन्ने बुझ्न सकिने भयो । अझ यो सम्बन्ध यस्तो छ कि लण्डनमा दुई–तीन लाख नेपाली बस्छन् । त्यहाँ गुन्द्रुक पाउन कुनै समस्या छैन । १००–१५० जना नेपाली बस्ने ठाउँमा पनि नेपालको उत्पादन त्यहाँ पुगेकै छ । अहिले त यहाँबाट सामान डेलिभरी गर्ने चार्ज पनि एकदम सस्तो भएको छ । प्रतिकेजी ४–५ सय रुपैयाँमा सामान पुर्याउन सकिने रहेछ । मान्छेहरूलाई सामान पठाउन एकदम सजिलो भएको छ । पहिला त धेरै समय लाग्थ्यो । भनेपछि, समग्रमा नेपाल यो भूगोलभित्रको नेपालभन्दा भूगोलबाहिरको नेपाली जनसङ्ख्यालाई हेर्नुभयो भने अझ ठूलो देखिन्छ । क्षमताको हिसाबले हेर्नुभयो, आम्दानीको क्षमताको हिसाबले हेर्नुभयो भने पनि बाहिरको नेपाली समुदाय ठूलो भइसकेको छ । त्यहाँ रहेको अथाह सम्भावनालाई नेपालसँग जोड्नुपर्छ भन्ने नै एनआरएनएको प्रमुख उद्देश्य हो । यसमा अब हामी आइसकेपछि एनआरएनएको दायरालाई पनि अलिकति विस्तार गरौँ कि भन्ने हामीलाई लागिरहेको छ ।’
अध्यक्ष शर्माका अनुसार, विदेशमा रहेका नेपालीहरूको अथाह सम्भावना, सीप र पुँजीलाई नेपालको विकाससँग जोड्नु नै एनआरएनएको प्रमुख उद्देश्य हो । संघले आगामी दिनमा आफ्नो कार्यक्षेत्र र दायरालाई थप परिष्कृत गर्दै लैजाने योजना बनाएको छ । एनआरएनए र नेपाल चेम्बर अफ कमर्सबीचको यो सहकार्यले वैदेशिक लगानी भित्र्याउन र नेपाली उत्पादनलाई विश्व बजारमा प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।






