काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। सोमबार बसेको प्रदेश सभा बैठकमा उनको पक्षमा ५७ र विपक्षमा २२ मत परेको हो।
मुख्यमन्त्री कार्कीको पक्षमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका सांसदले मतदान गरेका छन्। नेपाली काँग्रेसका सांसदले भने विश्वासको मतको विपक्षमा मत दिएका छन्।
कोशी प्रदेश सभामा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ सदस्य छन्। यी दुई दलका सांसदको मतबाट मुख्यमन्त्री कार्कीले कुल ५७ मत प्राप्त गरेका हुन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद मतदानमा तटस्थ बसेका छन्। प्रदेश सभामा सभामुखसहित राप्रपाका पाँच सदस्य छन्। जनता समाजवादी पार्टीकी एक मात्र सांसद निर्मला लिम्बु भने बैठकमा अनुपस्थित थिइन्।
कुल ९३ सदस्यीय कोशी प्रदेश सभामा एक सदस्यले राजीनामा दिएपछि हाल ९२ सदस्य कायम छन्। सोमबारको बैठकमा ८३ सदस्य उपस्थित थिए।






